बजेटको पर्खाइमा ‘ड्रिम फाप्ला’

डीपीआर र ईआईए स्वीकृत, तर बजेट अभाव

वैशाख ११, २०८३

टेकराज जोशी

'Dream Fapla' awaits budget

धनगढी — ‘सुदूर अब दूर नाइँ, झिक्कै–झिक्कै माया तम्लाई...’

चुनावी प्रचारका क्रममा सुदूरपश्चिम पुगेका बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको यो वाक्य त्यतिबेला निकै भाइरल बनेको थियो । पहाडी जिल्लाको भ्रमण सकेर धनगढीमा आयोजित आमसभामा एक सहभागीले चश्मा खोलेर आाखा देखाउन आग्रह गरेपछि उनले भनेका थिए, ‘आँखा हेर्नुपर्दैन, काम हेर्नुहोला ।’

त्यसपछि उनले फेरि दोहोर्‍याए, ‘सुदूर अब दूर नाइँ, झिक्कै–झिक्कै माया तम्लाई..आई लभ यू ।’ सभास्थल हुटिङ र तालीले गुन्जिरहेको थियो । छोटो अभिव्यक्ति भए पनि त्यसले सुदूरपश्चिमका नागरिकमा ठूलो आस जगाएको थियो । वर्षौंदेखि राज्यको प्राथमिकताबाट टाढा पारिएको सुदूरपश्चिम अब केन्ऽको नजरमा पर्नेछ, विकासमा न्याय पाउनेछ र अवसरको ढोका खुल्नेछ भन्ने विश्वास स्थानीयमा पलाएको थियो । अहिले बालेन्द्र शाह प्रधानमन्त्री छन् । बहुमतको सरकार छ । अब सुदूरपश्चिम एकपटक प्रतीक्षामा उभिएको छ, त्यो आशा व्यवहारमा बदलिन्छ कि बदलिादैन भन्ने अपेक्षासाग ।

यही सन्दर्भमा सुदूरपश्चिमवासीको ध्यान अहिले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा केन्द्रित छ, जुन बजेट अभावका कारण निर्माण अघि बढ्न सकेको छैन । करिब २ लाख ६० हजार ९ सय १९ वर्गमिटर क्षेत्रफलमा फैलिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाका प्रारम्भिक तयारीका सबै काम लगभग पूरा भइसकेका छन् । जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको छ ।

'Dream Fapla' awaits budget

हालै यो आयोजनालाई राष्ट्रिय योजना आयोगको ‘प्रोजेक्ट बैंक’मा समेत समावेश गरिएको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीका अनुसार अब परियोजना निर्माण चरणमा प्रवेश गर्न पूर्ण रूपमा तयार छ । ‘जग्गा प्राप्ति, डीपीआर र ईआईए सबै प्रक्रिया पूरा भइसकेका छन् । परियोजना बैंकमा पनि राखिएको छ । अब केबल बजेटको पर्खाइ हो,’ उनले भने ।

शाहीका अनुसार समितिले आयोजना क्षेत्रभित्र रहेका रुख व्यवस्थापन गर्ने, बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउने तथा यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि लैजाने निर्णयसमेत गरिसकेको छ । ‘अब परियोजना कागजबाट निर्माण चरणमा जाने अवस्थामा छ, तर बजेट नहुँदा काम अघि बढ्न सकेको छैन,’ उनले थपे । यस परियोजनालाई साधारण रंगशाला नभई विश्वस्तरीय खेलग्रामका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा २५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिनेछ भने दोस्रो चरणमा विस्तार गरी ५० हजार पुर्‍याइने छ । पूर्ण रूपमा सम्पन्न भए यो दक्षिण एसियाकै गणनायोग्य क्रिकेट रंगशालामध्ये एक बन्ने विश्वास गरिएको छ । मैदानमा अत्याधुनिक पानी निकास प्रणाली जडान गरिनेछ, जसले भारी वर्षापछि केही मिनेटमै खेल सञ्चालन सम्भव बनाउने छ । आधुनिक ड्रेसिङ रुम, इन्डोर अभ्यास हल, सञ्चार केन्द्र, विशिष्ट अतिथि कक्ष, डिजिटल स्कोरबोर्ड तथा स्तरीय दर्शक सुविधा रहनेछ ।

'Dream Fapla' awaits budget

धनगढीलाई ‘क्रिकेटको सहर’ भनेर चिनिन्छ । यहाँ क्रिकेटप्रति असाधारण मोह छ । घरेलु प्रतियोगितादेखि राष्ट्रिय खेलसम्म दर्शकको उत्साह उल्लेखनीय रहँदै आएको छ । सुदूरपश्चिमबाट धेरै खेलाडी नेपाली राष्ट्रिय टोलीमा पुगेका छन् । हालै सम्पन्न ट्वान्टी–२० विश्वकपमा पनि यस क्षेत्रका चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसले यो भूगोलमा क्रिकेटको जरा कति गहिरो छ भन्ने स्पष्ट देखाउँछ ।

फाप्ला परियोजना भौगोलिक अवस्थिति र भारतीय सीमासँगको निकटताका कारण रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ । भारतका ठूला सहरहरू लखनउ र नयाँ दिल्लीबाट ४–६ घण्टाको सडक दूरीमा रहेको धनगढीले यस परियोजनाको व्यावसायिक तथा पर्यटन सम्भावना उल्लेखनीय रूपमा बढाएको छ । भारत विश्वकै सबैभन्दा ठूलो क्रिकेट बजार भएकाले उत्तर प्रदेश र उत्तराखण्डबाट ठूलो संख्यामा दर्शक आउने सम्भावना छ । यसले रंगशाला भरिभराउ हुने, टिकट बिक्री बढ्ने र आर्थिक आम्दानी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

फाप्ला बनेपछि धनगढी भारतीय पर्यटकका लागि ‘विकेन्ड गेटवे’ बन्न सक्ने बताउँदै नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंह भन्छन्, ‘यहाँ हुने हरेक खेल गतिविधिले होटल, रेस्टुरेन्ट तथा व्यापारिक क्षेत्रमा प्रत्यक्ष फाइदा पुर्‍याउने छ । अहिले पनि धनगढीमा एउटा चारतारे र एउटा पाँचतारे होटेल निर्माणको अन्तिम चराणमा छ ।’

उनले भने, ‘यसले निजी लगानी आकर्षित गर्दै समग्र पर्यटन उद्योगलाई गति दिने विश्वास गरिएको छ । सीमासँगको निकटताले लजिस्टिक व्यवस्थापन सहज बनाउने छ र आवश्यक सामग्री भारतबाट छिटो र कम लागतमा ल्याउन सकिन्छ ।’ ‘क्रस–बोर्डर सपिङ हब’ का रूपमा धनगढीलाई विकास गर्ने सम्भावनामा हेरिएको उनको भनाइ छ ।

भारतको विकसित सडक तथा रेल सञ्जालसँगको पहुँचले विदेशी पर्यटकलाई सहज आवागमनको अवसर दिनेछ । दिल्ली वा लखनउ पुग्ने अन्तर्राष्ट्रिय पर्यटकले छोटो यात्रामै सुदूरपश्चिम भ्रमण गर्न सक्ने भएकाले ‘इन्बाउन्ड टुरिजम’ बढ्ने अपेक्षा गरिएको छ । फाप्ला परियोजना नेपाल–भारत सम्बन्धमा ‘क्रिकेट कूटनीति’ को माध्यम बन्न सक्ने देखिएको छ । यद्यपि, नेपालका तत्कालीन प्रधानमन्त्रीहरूको भारत भ्रमणका क्रममा परियोजनामा सहयोगको विषय उठे पनि हालसम्म ठोस सहमति हुन सकेको छैन । फाप्लाको अर्को बलियो पक्ष धनगढी विमानस्थल हो । देशकै महत्त्वपूर्ण धावनमार्गमध्ये एक भएकाले यहाँ ठूला जहाज अवतरण गराउन सकिन्छ, जसले विदेशी टोली, दर्शक र पर्यटकका लागि सहज पहुँच सुनिश्चित बन्नेछ ।

स्थानीय खेलप्रेमी प्रकाश विष्टका अनुसार फाप्ला सम्पन्न भए यसको प्रभाव खेलकुद क्षेत्रमा मात्रै सीमित रहने छैन । ‘निर्माण चरणमै रोजगारी सिर्जना हुन्छ । सञ्चालनपछि होटल, यातायात, व्यापार, पर्यटन र सेवाक्षेत्र चलायमान हुन्छ । धनगढी नयाँ आर्थिक केन्द्रका रूपमा विकास हुनसक्छ,’ उनले भने । उनका अनुसार यसले युवालाई खेलतर्फ आकर्षित गर्दै अवसर र अनुशासनको नयाँ वातावरण सिर्जना गर्नेछ । सुदूरपश्चिम प्रदेश सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको छ । यसलाई प्रदेशको गौरवको आयोजनाका रूपमा अगाडि बढाउने तयारी भइरहेको छ । तर प्रदेशको बजेटले मात्रै यस्तो ठूलो आयोजना सम्भव छैन ।

'Dream Fapla' awaits budget

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारसँग बजेट विनियोजनको अपेक्षा गरेका छन् । ‘संघीय सरकारले बजेट विनियोजन गरोस्, हामी सक्दो सहयोग गर्छौं,’ उनले भने । निर्वाचनका बेला यो क्षेत्रबाट उम्मेदवार बनेका रास्वपालगायत सबै दलले फप्ला क्रिकेट मैदानलाई आफ्नो मुख्य चुनावी एजेण्डा वनाएका थिए । आफूले जितेर गएपछि फाप्ला निर्माण अघि वढाउने उनीहरूको प्रतिवद्धता थियो । हालै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित यस क्षेत्रबाट निर्वाचित सांसद आनन्दबहादुर चन्द, केपी खनाललगायत फाप्ला अनुमगनमै पुगे । मन्त्री पोखरेलले पनि फाप्ला सरकारको प्राथमिकतामा रहेको र बजेट विनियोजनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कैलाली ५ वाट निर्वातिच सांसद आनन्द चन्द भन्छन्, फाप्ला हाम्रो प्राथमिकता हो, बजेट विनियोजनका लागि सरोकारवाला सबै निकायलाई निरन्तर झक्झक्याइरहेका छौं ।

सुदूरपश्चिम अझै पिछडिएको प्रदेशमध्ये एक मानिन्छ । औद्योगिक विकास न्यून छ, ठूला उद्योग–कलकारखाना छैनन्, सडक पूर्वाधार अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । सुविधासम्पन्न अस्पतालको अभावले जटिल रोगका बिरामी अझै भारत वा राजधानी काठमाडौं पुग्न बाध्य छन् । चरम बेरोजगारीका कारण हजारौं युवा रोजगारीका लागि भारतका विभिन्न सहर पुग्न बाध्य छन् । दुई छाक टार्नकै लागि परदेशिनुपर्ने अवस्था यथावत छ । यही अवस्थाबाट मुक्त हुने आशामा सुदूरपश्चिमले पछिल्लो निर्वाचनमा रास्वपालाई उल्लेखनीय समर्थन गरेको थियो ।

दुर्गालक्ष्मी क्याम्पसका सहप्राध्यापक हरिशंकर जोशी भन्छन्, ‘१६ सिटमध्ये १० सिट जिताएर यस क्षेत्रले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएको थियो ।’ यस्ता परियोजनाले रोजगारी निर्माणमा महत्त्वपूर्ण टेवा पुग्ने उनको वुझाइ छ । सरकार गठनपछि केही सकारात्मक संकेत देखिएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीबीएससहित चारवटा संकाय सञ्चालन गर्ने निर्णयले प्रदेशवासीमा केही आशा जगाएको धनगढी उपमहानगर प्रमुख गोपाल हमाल बताउँछन्, ‘फाप्ला बनेपछि यो क्षेत्रले विकाशमा ठूलो फड्को मार्न सक्छ ।’ सुदूरपश्चिमको ठूलो अपेक्षा अझै फाप्लामै केन्द्रित छ । कागजी रूपमा सबै तयारी पूरा भएर पनि बजेट अभावले रोकिएको यो परियोजना अहिले निर्णयको पर्खाइमा छ । सुदूर अब दूर नाई भन्ने वाक्य अब नारामा मात्र सीमित नरही विकासमा देखिनुपर्ने माग सुदूरपश्चिमबाट उठिरहेको छ । फाप्ला अहिले पनि प्रतीक्षामा छ, बजेट र वाचाको कार्यान्वयनको ।

टेकराज जोशी कान्तिपुरका धनगढी संवाददाता हुन्।

Link copied successfully