रारा गोल्डकप फुटबल वैसाख १८ देखि

पुण्य माध्यमिक विद्यालय राजारानीको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठवटा टिमको सहभागिता रहनेछ।

वैशाख १०, २०८३

विनोद घिमिरे

Rara Gold Cup Football from April 18

What you should know

धनकुटा — धनकुटा जिल्लाकै प्रतिष्ठित रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिताको १३औं संस्करण वैसाख १८ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ।

आयोजक रारा फुटबल क्लबले राजारानीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

पुण्य माध्यमिक विद्यालय राजारानीको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठवटा टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूमा रारा फुटबल क्लब राजारानी, सहलेस फुटबल क्लब सर्लाही, बिर्तामोड युनाइटेड फुटबल क्लब झापा, आरआइएफसी काठमाडौं, केराबारी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी, गाईघाट फुटबल क्लब उदयपुर र डाँडाबजार फुटबल क्लब धनकुटा रहेका छन्।

जिल्लामै सर्वाधिक पुरस्कार राशिको रूपमा चिनिएको प्रतियोगितामा विजेताले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसका साथै उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई ७ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि चौबीसे गाउँपालिकाले १४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष टंक माया पाङ्गमी मगरले खेलकुदमार्फत युवालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले सहयोग गरिएको बताइन्।

३६ लाख ३२ हजार ५ सय रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा पुरस्कार, टिम व्यवस्थापन, प्रमाणपत्र, प्याराफिट निर्माण, खेल सामग्री, पानी, खाजा, आवास, सञ्चार तथा प्रचारप्रसार, अतिथि सत्कार लगायतका शीर्षकमा खर्च हुने आयोजक क्लबका सचिव जीवन कटुवालले जानकारी दिए।

धनकुटा जिल्ला फुटबल सङ्घका अध्यक्ष मणि चेम्जोङले प्रतियोगिताले जिल्लामा फुटबलको विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै राजारानी क्षेत्रलाई खेल पर्यटनको गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए।

यस वर्षको संस्करणलाई अझ व्यवस्थित र आकर्षक बनाउन आयोजकले सुरक्षा, स्वास्थ्य सेवा र दर्शक व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ। खेल अवधिभर प्राथमिक उपचारसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ भने दर्शकको सहजताका लागि खानेपानी र बस्ने व्यवस्थामा सुधार गरिएको छ ।

प्रतियोगिताका कारण राजारानी क्षेत्रमा होटल, यातायात र स्थानीय व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने मात्र होइन, खेल पर्यटन प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान आयोजकको भनाइ छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully