गल्छी आरएमलाई धादिङ क्रिकेट लिग

टस जितेर पहिले ब्याटिङ गरेको धुनिबेसीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्यो । मुख्य ब्याटरहरू टिक्न नसक्दा रन गति सुस्त बन्यो ।

वैशाख १०, २०८३

कान्तिपुर संवाददाता

Dhading Cricket League for Galchhi RM

धादिङ — प्रतिस्पर्धात्मक फाइनलमा गल्छी गाउँपालिकाको गल्छी आरएमले धुनिबेसी नगरपालिकाको धुनिबेसी मुनलाई ७ विकेटले पराजित गर्दै धादिङ क्रिकेट लिगको उपाध जितेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको धुनिबेसीले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमात्र बनाउन सक्यो । मुख्य ब्याटरहरू टिक्न नसक्दा रन गति सुस्त बन्यो । कौशल रुपाखेतीले ३० र अमृत थापाले २८ रन बनाए । गल्छीले अनुशासित र प्रभावशाली बलिङ प्रदर्शन गर्‍यो । रामहरि सापकोटाले ४ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए । उनलाई साथ दिएका रुपेश भुजेल र प्रवीण खतिवडाले पनि महत्त्वपूर्ण विकेट लिए ।

१०७ रनको लक्ष्य गल्छी आरएमले १४.२ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो । अंशराज गुप्ताले अविजित ३४, सन्देश नेपालले ३३ र सरोज योञ्जनले २१ रनो योगदान गरेका थिए । ४ खेलमा २०७ रन बनाएका बेनिघाट रोराङका अञ्जल सिलवाल सर्वाधिक रनकर्ता बने । उनले एक शतक र एक अर्धशतक प्रहार गरे । १२.४ ओभरमा १२ विकेट लिएर ५.२९ इकोनोमीमा बलिङ गरेका दिपेश सेडाईं उत्कृष्ट बलर भए । 

खेलाडीको प्रदर्शन, दर्शकको उत्साह र आयोजकको सफल व्यवस्थापनमा धादिङ क्रिकेट लिगले स्थानीय स्तरमा क्रिकेट विकास, प्रतिभाको पहिचान र खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको विश्वास गरिएको छ । यस लिगलाई आगामी वर्षहरूमा अझ ठूलो स्तरमा आयोजना गरिने जिल्ला क्रिकेट संघ धादिङले जनाएको छ ।

विजेता खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कृत गरेका थिए ।

कान्तिपुर

Link copied successfully