खेलकुदका माध्यमबाट यहाँका विद्यार्थीको प्रतिभा पहिचान गर्न र खेलप्रतिको आकर्षण बढाउन हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ ।
जुम्ला — यहाँको हिमा गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । नेत्रज्योति मावि ओदीमा बिहीबार सुरु प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले गरे ।
कर्णालीको प्रकृति, संस्कृति, प्राकृतिक स्रोतसाधन, सिंजा सभ्यताको विकास गर्न उनले आग्रह गरे । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले विभिन्न विधाका प्रतिभावान् खेलाडी उत्पादन गर्ने विश्वास गरे ।
खेलकुदका माध्यमबाट यहाँका विद्यार्थीको प्रतिभा पहिचान गर्न र खेलप्रतिको आकर्षण बढाउन हरेक वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगितामा हिमा गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा विभिन्न विधाका खेलहरु हुनेछन् । तीन दिनसम्म चल्ने यो प्रतियोगितामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ ।