दुई कुशल जम्दा नेपाललाई सफलता

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले यो विजयपछि शृंखला १–१ को बराबरीमा टुंग्याएको छ

वैशाख ९, २०८३

विनोद पाण्डे

Two skilled workers bring success to Nepal

काठमाडौँ — कुशल भुर्तेल र कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि नेपालले मंगलबार दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई ८ विकेटले पराजित गरेको छ । उनीहरूले पहिलो ८ ओभरमा ६७ रन जोडेपछि नेपालले १ सय २९ रनको लक्ष्य १४ ओभरमै भेटेको थियो ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपालले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पाएको यो विजयपछि शृंखला १–१ को बराबरीमा टुंगिएको छ । अघिल्लो दिन वर्षाले प्रभावित खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

कुशलद्वयले पहिलो ६ ओभरको पावर प्लेमा विनाक्षति ५१ रन जोडेर नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । कुशल मल्ल आउट भएपछि यो साझेदारी टुटेको थियो । उनले १७ बल खेल्दा १ चौका र २ छक्कासहित १९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका सन्तोष यादव १ रनमा स्टम्पआउट भए ।

३४ रनमा जीवनदान पाएको फाइदा उठाउँदै कुशलले ६७ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको १४ औं अर्धशतक हो । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् । अक्टोबरमा ओमानको गृह मैदानमा ६९ रन बनाएयता यो संरचनामा उनको पहिलो अर्धशतक हो । कुशल भुर्तेल ५७ बल खेल्दै ८४ रनमा अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । भुर्तेल र दीपेन्द्रबीच तेस्रो विकेटमा ५८ रनको अविजित साझेदारी भएको थियो । दीपेन्द्रले १७ बल खेल्दै ३ चौकासहित अविजित २३ रन बनाए ।

यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २८ रनमात्र बनाउन सकेको थियो । नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तीव्र गतिका बलर हेमन्त धामीले खेलको पहिलो बलमै मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरी नेपाललाई सनसनीपूर्ण सुरुआत दिलाए । दोस्रो ओभरमा नन्दन यादवले अलिसान सराफुलाई १ रनमा विकेटकिपर लोकेश बमबाट सानदार क्याच गराए ।

हेमन्तले आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा हरप्रित सिंहलाई १ रनमा आउट गराए । ओपनर अविद इस्मानीले ३० रन बनाए । २२ बल खेलेका उनी समान २ चौका र छक्का प्रहार गरेपछि सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट भए । आफ्नो पहिलो ओभरमा १७ रन खर्चेका शाहब आलमले दोस्रो ओभरमा सोहेब खानलाई शून्यमा आउट गरे भने सोही ओभरमा निलान्स केशवानी शून्यमा रनआउट भए ।

यूएई आठौं ओभरमा ४८–६ पुगेको अवस्थाबाट अक्षदीप नाथ र मोहम्मद अरफानले सातौं विकेटमा ६४ रनको साझेदारी गरे । अरफानले ३६ बल खेल्दै २ चौका र १ छक्कासाथ ३२ रन बनाए । सन्दीपले अर्को बलमा खुजाइमा तानविरलाई शून्यमा आउट गरे । अक्षदीप ५३ रन बनाई अविजित रहे । उनले ४२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । मोहम्मद जुहेब ८ रनमा अविजित रहे ।

सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नन्दन र शाहबले १–१ विकेट लिए । नन्दनले ४ ओभरमा ४४ र शाहबले ३  ओभरमा २९ रन खर्चेका थिए । सन्तोषले १ ओभर बलिङ गर्दै ११ रन खर्चे । नेपालले पहिलो खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष र शाहब आलमलाई खेलाएको थियो ।

सन्तोषको ‘डेब्यु’

नेपालबाट स्पिन अलराउन्डर सन्तोष यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका छन् । उनी नेपालको ५५ औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलाडी बनेका छन् । पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा मौका पाएका हुन् । तर, उनले बलिङ र ब्याटिङ दुबैबाट खासै प्रभाव पार्न सकेनन् ।

हालै भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रभावशाली प्रर्दशन गरेपछि सन्तोषले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपाली टोलीको ढोका खोलेका हुन् । देव्रेहाते सन्तोषले प्रधानमन्त्री कपमा २१ विकेट लिनुका साथै २ सय ६५ रन बनाएका थिए । सन्तोषले नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि काठमाडौं गोर्खाजबाट राम्रो प्रभाव देखाएका थिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully