ओमानद्वारा नेपाल ‘ए’ पराजित

टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८० रन बनाएको थियो ।

वैशाख ९, २०८३

विनोद पाण्डे

Nepal 'A' defeated by Oman

What you should know

काठमाडौँ — क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको ओमानको राष्ट्रिय टोलीले मूलपानीको माथिल्लो क्रिकेट मैदानमा बुधबार पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८० रन बनाएको थियो । कप्तान जतिन्दर सिंह र मुजिबुर अलीले अर्धशतक बनाएपछि ओमानले राम्रो स्कोर बनाएको थियो ।

जतिन्दरले ४८ बलमा ५८ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे । जतिन्दरले आशिष ओडेडारासँग पहिलो विकेटमा १४  ओभर भित्र ७९ रन जोडेका थिए । ओडेडाराले ४९ बल खेली २ चौकासहित २७ रन बनाए । देब्रेहाते स्पिनर सन्तोष यादवले दुवै ओपनरलाई आउट गरेका थिए ।

हमाद मिर्जालाई ५ रनमा शाहव आलमले बोल्ड गरे पनि मुजिबुर र हसिर डाफेडारले चौथो विकेटमा ९१ रनको साझेदारी गरे । मुजिबुरले ८५ बल खेली ४ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । डाफेडारले ४१ बल खेली समान ३ चौका र छक्काका साथ ४६ रन जोडे ।

वासिम अली ५, विनायक शुक्ला २५, नदिम साह र हसनाइन अली साह समान ६ रनमा आउट भए । जितेनकुमार रमानन्दी १६ बल खेली समान १ चौका र छक्का प्रहार गरी १७ रनमा अविजित रहे । नेपालबाट आकाश चन्दले ४ विकेट लिए । तल्लोक्रमको ३ विकेट लिएका उनले ९ ओभरमा ३१ रन  खर्चे । सन्तोषले ६ ओभरमा १५ रन खर्चेर २ तथा शाहव, शेर मल्ल र रशिद खानले १–१ विकेट लिए ।

कप्तान अनिल साह र इशान पाण्डेले अर्धशतक बनाए पनि नेपाल ‘ए’ ४४.४ ओभरमा २ सय १० रनमा अलआउट भयो । अनिलले ६४ बल खेली ५ चौकासहित ५० रन बनाए । उनले तृतराज दाससँग पहिलो विकेटमा १८ ओभर भित्र ८४ रन जोडेका थिए । तृतले ४८ बल खेली ४ चौका प्रहार गर्दै ३१ रन बनाए ।

देव खनाल र इशानले तेस्रो विकेटमा ८६ रनको साझेदारी गरे । देवले ४३ बल खेली ३ चौका र १ छक्कासहित ४३ तथा इशानले ६२ बल खेली ३ चौका प्रहार गरी ५२ रन बनाए । तर, त्यसपछि लगातार विकेट जाँदा नेपाल ‘ए’ ५० ओभर पनि टिक्न सकेन ।

सन्दीप जोरा ११, कुशल मल्ल १, सन्तोष ०, रशिद १ रनमा आउट भए । ओमानका सकिल अहमदले ४ ओभरमा ८ रन खर्चेर ३, नदिम खानले १० ओभरमा ४२ र मुजिबुरले ६ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए ।

यी दुई टोली बीचको दोस्रो खेल शुक्रबार हुनेछ । नेपाल, ओमान र यूएई सम्मिलित लिग २ शनिबार सुरु हुँदैछ । ओमानले सोमबार यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully