इलाम गोल्डकपको फाइनलमा मच्छिन्द्र

खेलमा दुई गोलसहित आक्रामक प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ राई खेलमा म्यान अफ दि म्याच घोषित हुँदै ८ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

वैशाख ९, २०८३

लक्ष्मी गौतम

Machhindra in the final of Ilam Gold Cup

पाँचथर — इलाममा जारी इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 

बुधबारको पहिलो सेमिफाइनल खेलमा पथरी ११ मोरङलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै मच्छिन्द्रले फाइनलको यात्रा तय गरेको हो ।

इलामस्थित ठूलो टुँडिखेलमा भएको खेलको १२औं मिनेटमा मच्छिन्द्रका फरवार्ड मिलन चाम्लिङ राईले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । उक्त अग्रता लामो समय टिक्न पाएन् । १६औं मिनेटमा पथरीका मौसम लिम्बूले उत्कृष्ट फिनिस गर्दै खेल १–१ को बराबरी बनाए । त्यसपछि खेलमा पुनः मच्छिन्द्र हाबी भयो । ३०औं मिनेटमा मिलनले दोस्रो गोल थपेपछि पहिलो हाफमा मच्छिन्द्र २–१ ले अगाडि रह्यो ।

दोस्रो हाफ सुरु भएपछि मच्छिन्द्रले आक्रामक रणनीति अपनायो । त्यसपछि सौरभ लिम्बू, अविनाश स्याङ्ताङ र श्याम मुर्मुले क्रमशः १/१ गोल थपे । पथरीका  तर्फबाट सुजल डंगोलले दोस्रो हाफमा एक गोल फर्काए पनि टोलीको हार टार्न सकेन । निर्धारित समयको समाप्तिमा मच्छिन्द्र ५–२ अन्तरसहित जित निकाल्न सफल भयो ।

खेलमा दुई गोलसहित आक्रामक प्रदर्शन गरेका मच्छिन्द्रका मिलन चाम्लिङ राई खेलमा म्यान अफ दि म्याच घोषित हुँदै ८ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

आयोजक रेडहर्ष फुटबल क्लबका अनुसार बिहीबार दोस्रो सेमिफाइनल खेल हुनेछ । उक्त खेलमा न्यू रोड टिम एनआरटी र रोलिङ क्लब धुलाबारी, झापा आमनेसामने हुनेछन् । 

१२ बैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully