नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तीव्र बलर हेमन्त धामीले खेलको पहिलो बलमै मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरी नेपाललाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । दोस्रो ओभरमा नन्दन यादवले अलिसान सराफुलाई १ रनमा विकेटकिपर लोकेश बमबाट सानदार क्याच गराए ।
What you should know
काठमाडौँ — नेपालले यूएईविरुद्धको दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल जित्न १ सय २९ रनको लक्ष्य पाएको छ । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङको निम्तो दिएपछि आएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २८ रनमात्र बनाएको हो ।
नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तीव्र बलर हेमन्त धामीले खेलको पहिलो बलमै मोहम्मद वासिमलाई एलबीडब्लू आउट गरी नेपाललाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । दोस्रो ओभरमा नन्दन यादवले अलिसान सराफुलाई १ रनमा विकेटकिपर लोकेश बमबाट सानदार क्याच गराए ।
हेमन्तले आफ्नो दोस्रो तथा खेलको तेस्रो ओभरमा हरप्रित सिंहलाई १ रनमा आउट गराए । ओपनर अबिद इस्मानीले ३० रन बनाए । २२ बल खेलेका उनी समान २ चौका र छक्का प्रहार गरेपछि सन्दीप लामिछानेको बलमा एलबीडब्लू आउट भए । आफ्नो पहिलो ओभरमा १७ रन खर्चेका शाहव आलमले दोस्रो ओभरमा सोहेब खानलाई शून्यमा आउट गरे भने सोही ओभरमा निलान्श केशवानी शून्यमा रनआउट भए ।
यूएई आठौं ओभरमा ४८–६ पुगेको अवस्थाबाट आकाशदिप नाथ र मोहम्मद अरफानले सातौं विकेटमा ६४ रनको साझेदारी गरे । अरफानले ३६ बल खेली २ चौका र १ छक्काका साथ ३२ रन बनाए । सन्दीपले अर्को बलमा खुजाइमा तानभिरलाई शून्यमा आउट गरे । आकाशदीप ५३ रन बनाई अविजित रहे । उनले ४२ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । मोहम्मद जुहेब ८ रनमा अविजित रहे ।
सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । नन्दन र शाहवले १–१ विकेट लिए । नन्दनले ४ ओभरमा ४४ र शाहवले ३ ओभरमा २९ रन खर्चे ।
यूएईले पहिलो खेलमा नेपाललाई ६ विकेटले पराजित गरेको छ । नेपालबाट स्पिन अलराउन्डर सन्तोष यादवले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका छन् । पहिलो पटक नेपाली टोलीमा परेका सन्तोषलाई यूएईविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा प्लेयिङ ११ मा खेलाइएको हो । सन्तोषले १ ओभर बलिङ गर्दै ११ रन खर्चे ।
नेपालले पहिलो खेलेको टोलीबाट अर्जुन साउद, सन्दीप जोरा, बसिर र शेर मल्लको स्थानमा लोकेश बम, आरिफ शेख, सन्तोष र शाहव आलमलाई खेलाएको छ ।
