मलेसियालाई टाइब्रेकरमा हराउँदै मच्छिन्द्र अन्तिम चारमा

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा जित निकाल्दै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो ।

वैशाख ७, २०८३

लक्ष्मी गौतम

Machhindra defeats Malaysia in tiebreaker to reach last four

पाँचथर — मलेसियाको एन पेनाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै मच्छिन्द्र क्लब इलाम गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा जित निकाल्दै मच्छिन्द्रले सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेल अवधिभर दुवै टोलीले आक्रमणको लय समात्ने प्रयास गरे पनि गोलरहित बराबरीमा खेलेका थिए ।

मच्छिन्द्रले मध्यभागबाट पटकपटक गरेको प्रयास एन पेनाङले काउन्टर अट्याकमार्फत दबाब सिर्जना गर्‍यो । 

खेल अवधिभर दुवै टोलीका रक्षापंक्ति र गोलरक्षकको रक्षात्मक भूमिकासँगै खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको हो ।

टाइब्रेकरमा मच्छिन्द्र हाबी

टाइब्रेकरमा मच्छिन्द्रका सनिश श्रेष्ठ, मिलन चाम्लिङ र देवेन्द्र तामाङले गोल गर्दा एन पेनाङका ओलाए र पाउलले मात्रै गोल गरे । अन्य खेलाडीको प्रहार मच्छिन्द्रका गोलरक्षक प्रदिप भण्डारीले बचाउ गरेसँगै ३–२ को नतिजासहित मच्छिन्द्रले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

खेल अवधिभर उत्कृष्ट बचाउ गर्दै टोलीलाई दबाबबाट जोगाएका मच्छिन्द्र फुटबल क्लबका गोलरक्षक प्रदीप भण्डारी सोमबारको खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले ट्रफीसहित ८ हजार १ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी काठमाडौं र चित्लाङ फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।

१२ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख र  उपविजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully