प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।
सुनसरी — १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि सोमबार प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङ भिड्दै छन् ।
इटहरी रंगशालामा हुने रात्रिकालीन खेल बेलुकी ७ बजे हुनेछ । फाइनलअघि आइतबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान तथा प्रशिक्षकले उपाधि जित्ने आधार उल्लेख गर्दै च्याम्पियन बन्ने दाबी गरे ।
बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजका प्रशिक्षक गणेश खड्काले आफ्नो घरेलु मैदानमा टिमलाई उपाधिनजिक पुर्याउन पाउँदा उत्साहित बनेको बताए । आफ्नो टिम सन्तुलित रहेकाले उपाधि जित्नेमा ढुक्क रहेको उनको भनाई छ ।
कप्तान अभिषेक लामाले फाइनल खेल्न उत्साहित रहेको बताउँदै भरपुर प्रयास गर्ने बताए । गछिया युवा समाजका प्रशिक्षक मनोज राईले घरेलु दर्शकको साथ आफ्नो टिमलाई रहेको बताउँदै रणनीतिक तयारीका साथ मैदान उत्रिने बताए ।
कप्तान सुजन चौधरीले उत्कृष्ट प्रदर्शन गरेर नै फाइनल पुगेकाले उपाधि जित्ने दाबी गरे । अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसंग उपाधि भिडन्त पक्का गरेको हो । उक्त खेलमा प्लानिङका फागुराम थारुले हृयाटिकसहित चार गोल गरेका थिए ।
क्वाटरफाइनलमा समेत उनले युनाइटेड खर्साङबिरुद्ध २ गोल गरेका थिए । उनी कुल ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन् । पहिलो सेमिफाइनलमा गछियाले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
गछियाले क्वाटरफाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ पुरस्कार दिइने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।
