बायर्नका लागि राफेल गुरेरो, निकोलस ज्याक्सन र एल्फोन्सो डाभिसले पनि गोल गरे ।
काठमाडौँ — ह्यारी केनले गरेको सिजनको ३२ औं लिग गोलको मदतले बायर्न म्युनिकले आइतबार स्टुटगार्टलाई ४–२ ले पराजित गर्दै जर्मन बुंडेसलिगा जितेको छ । यो बायर्नले जितेको कीर्तिमान ३५ औं जर्मन लिग उपाधि हो । बायर्नका लागि राफेल गुरेरो, निकोलस ज्याक्सन र एल्फोन्सो डाभिसले पनि गोल गरे ।
स्टुटगार्टले सुरुमै अग्रता लिए बायर्नले सजिलै जित निकाल्न सफल भएको हो । यसअघि शनिबारको खेलमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्ड होफनहायनसँग हारेपछि बायर्नलाई अझ सजिलो भएको हो ।
स्टुटगार्टविरुद्ध बराबरी पनि बायर्नका लागि लिग जित्न पर्याप्त बनेको थियो । लिगमा ३० औं चरणको खेल सकिंदा बायर्नको ७९ अंक भएको छ र यो डर्टमुन्डमाथि १५ अंकको निर्णायक अग्रता हो ।
