नेपालद्वारा इटाली पराजित

रुविना नेपालबाट ५० विकेट लिने तेस्रो खेलाडी

वैशाख ६, २०८३

विनोद पाण्डे

Nepal defeats Italy

काठमाडौँ — नेपालले आईसीसी वुमन्स च्यालेन्ज ट्रफीमा पहिलो विजय हात पारेको छ । अफ्रिकन राष्ट्र रुवान्डामा आइतबार भएको खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गर्‍यो । 

टस जितेर ब्याटिङ रोजेको नेपालले किगालीस्थित गहन्गा क्रिकेट रंगशाला ओभल बी मा निर्धारित २० ओभर खेली ८ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । जबाफमा आएको इटाली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो । सोनाली टोफोलेटो 'एब्सेन्ट हर्ट’ का कारण ब्याटिङमा आएनन् । 

रुविना क्षेत्री ४ विकेट लिदैं प्लेयर अफ द म्याचमा चुनिन् । उनले २.४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेकी थिइन् । सोक्रममा रुविनाले महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पुरा गरेकी थिइन् । नेपालबाट महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने उनी तेस्रो खेलाडी हुन् । 

सीता रानामगरले ६७ खेलमा ६२ र कविता कु“वरले ६६ खेलमा ५८ विकेट लिएका छन् । नेपालबाट सर्वाधिक ८४ खेल खेलेकी रुविनाले ८४ खेल खेल्दै ५१ विकेट पु¥याएकी छन् । रुविना बाहेक इटालीस“ग नेपालबाट कविता कु“वरले ३ ओभरमा १२ रनमात्र खर्चेर २ तथा मनीषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले १–१ विकेट लिइन् । मनीषाले ४ ओभरमा १ मेडन राख्दै ६, रियाले ४ ओभरमा २४ र रचनाले ४ ओभरमा ११ रन खर्चेकी थिइन् ।

Nepal defeats Italy

इटालीबाट थिलिनी फर्नान्डो ४६ बल खेली १ चौकासहित २२ रन बनाई अविजित रहिन् । पासिन्डी कानाकेगेले १५ बल खेली १ चौकासहित १२ रन बनाइन् । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कप्तान इमिला बर्टरम र इलेनिआ सिम्स खाता खोल्नु अगाडि आउट भइन् । 

यसअघि नेपालबाट पुजा महतो ४८ रन बनाई अविजित रहिन् । उपकप्तान पुजाले ४५ बल खेली २ चौका र १ छक्का प्रहार गरिन् । विन्दु रावल २६ बल खेली २ चौकासहित १५, सम्झना खड्का १३ बल खेली २ चौकासहित १६, कप्तान इन्दु बर्मा १४ बल खेली १ चौकासहित १० रन बनाई आउट भएका थिए । त्यस्तै कविता कु“वरले ४, कविता जोशीले २, रुविनाले ५ रनमात्र बनाउन सकेका थिए भने रोमा थापा र रचना शुन्यमा आउट भएका थिए । रिया २ रनमा अविजित रहिन् ।

इटालीका बर्टरमले ३ विकेट लिइन् । उनले ३ ओभरमा २१ रन खर्चेकी थिइन् । फर्नान्डो, कानाकेगे, सिम्स एलेक्सिआ कोन्टोपिराकिज र कुमुदु पेड्रिकले १–१ विकेट लिइन् । शनिबार सुरु प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाललाई अमेरिकाले ४४ रनले पराजित गरेको थियो । मे १ सम्म हुने ५ राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिनका आधारमा प्रतियोगिता हुनेछ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully