इडेन गार्डेनमा भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराएको हो । कोलकाताको जितको नायक रहे, रिन्कु सिंह । उनले ३४ बलमा ५३ रन बनाए र नटआउट रहे ।
काठमाडौं — कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा आइतबार पहिलो जित आत्मसात् गरेको छ । उसले इडेन गार्डेनमा भएको खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराएको हो । कोलकाताको जितको नायक रहे, रिन्कु सिंह । उनले ३४ बलमा ५३ रन बनाए र नटआउट रहे ।
कोलकाताले जितका लागि पाएको १ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा १९.४ ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनायो । सुरुमै जीवनदान पाएका रिन्कुले अनुकुल रोयसँग सातौं विकेटका लागि ७६ रनको साझेदारी गरे । अनुकुलले १६ बलमा २९ रन जोडे ।
यो जितपछि कोलकाताको ३ अंक भएको छ र १० टिममध्ये पुछारको स्थान छाडेको छ । राजस्थान भने ८ अंकमा सीमित रहेर तेस्रो स्थानमा रह्यो । कोलकाताको सुरूवात राम्रो रहेन र उसका दुवै ओपनर टिम सेइफर्ट तथा कप्तान अजिन्के रहाने व्यक्तिगत शून्यको स्कोरमा आउट भए ।
कोलकाताले ६ विकेट गुमाउँदासम्म ८५ रन बनाएको थियो । त्यस स्थितिबाट रिन्कु र अनुकुलले स्थिति सम्हाले । रिन्कुको ब्याटबाट ५ चौका र २ छक्का प्रहार गरे । उनी ८ रनको व्यक्तिगत स्कोरमा छँदा नान्ड्रे बर्गरले सजिलो क्याच छाडेका थिए । अनुकुलको ब्याटबाट १ चौका र २ छक्का निस्केको थियो ।
राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको थियो र त्यसक्रममा ९ विकेटमा १ सय ५५ रन बनाएको थियो । त्यसमा ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ४६ रन बनाए । उनले २८ बलको सामना गरे र ६ चौका तथा २ छक्का प्रहार गरे । अर्का ओपनर यशस्वी जयसवालले २९ बलमा ३९ रन बनाए ।
उनीहरूले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे र टिमको स्कोर यसैमा टिकेको थियो । उनीहरू आउट भएपछि अरू ब्याटरले गतिलो योगदान गर्न सकेनन् । कोलकाताका बलरमध्ये वरुण चक्रवर्तिले १४ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, कार्तिक त्यागीले पनि २२ रनमा ३ विकेट हात पारे ।
