विराट गोल्डकप : पूर्वविजेता झापा-११ र घरेलु टोली सम्राट स्पोर्टिङ भिड्दै

विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

वैशाख ५, २०८३

अर्जुन सुवेदी

Virat Gold Cup: Former champions Jhapa-11 and home team Samrat Sporting clash

सुनसरी — विराट गोल्डकपको उपाधिका लागि पूर्वविजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब शनिबार भिड्दै छन् । खेल विराटनगरस्थित सहिद रंगशालामा राति ७ बजेबाट हुने आयोजकले जनाएको छ ।

फाइनल भिडन्तअघि शुक्रबार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि आफ्नो पक्षमा पार्ने दाबीसहित मैदान उत्रने बताए । घरेलु टोली सम्राटले उपाधि जिते विराट गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । झापाले भने यसअघि उपाधि जितिसकेको छ ।

घरेलु मैदान र दर्शकको साथ पाएको सम्राट स्पोर्टिङ पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पार्न चाहन्छ । झापाले यसअघि २०७१ सालमा त्रिभुवन आर्मी क्लबलाई नै हराएर उपाधि जितेको थियो । यसपटक पनि दुई बलिया विभागीय टोली आर्मी र नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेकोले उच्च मनोबलका साथ मैदान उत्रने तयारी गरेको छ । 

पहिलो पटक प्रतियोगितामा भाग लिएको पूर्वफिफा रेफ्री किरण गिरीको टिम सम्राट स्पोर्टिङले क्वाटरफाइनलमा पाहुना टोली भारतको बिर्सामुण्डा स्पोर्टस् एकेडेमी र सेमिफाइनलमा लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेडलाई समान ३–१ गोल अन्तरको जित निकालेकाले पनि मनोबल उच्च छ ।

प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने बताए पनि फाइनल खेलको रणनीतिबारे केही उल्लेख गरेनन् । सम्राटका प्रशिक्षक पारस चौधरीले घरेलु मैदान र दर्शकको साथ नै आफ्नो टोलीको मुख्य हतियार भएको बताए । पहिलो खेलमा खेलाडीहरु सेट हुन नसके पनि दोस्रो खेलमा उत्कृष्ट तालमेल भएकाले उपाधि नजिक पुगेको दाबी गर्दै चौधरीले फाइनलमा पनि यही तालमेललाई निरन्तरता दिने  बताए । उनले भने, 'पहिलो सहभागितामै फाइनल पुग्नु हाम्रा लागि ठूलो उपलब्धि हो, झापासँग विदेशी खेलाडी भए पनि हाम्रा खेलाडीहरू प्राविधिक रुपमा उत्कृष्ट छन् । घरेलु मैदानमा उपाधि जित्दै इतिहास रच्नेछौं ।'

सम्राटका कप्तान अशोक खवासले सेमिफाइनलमा देखिएका केही फिनिसिङका कमजोरी सुधार गर्दै मैदान उत्रने बताए । अनुभवी कप्तानको रुपमा चिनिएका खवासले सम्राटबाहेक मोरङका विभिन्न क्लबको कप्तानी गर्दै विभिन्न गोल्डकपको उपाधि जिताइसकेका छन । उनकै कप्तानीमा सगरमाथा युथ क्लबले लगातार दोस्रो पटक इटहरी गोल्डकपकको उपाधि जितिसकेको छ । खवासकै कप्तानीमा २४ औ संस्करणको बुढासुब्बा गोल्डकप र १५ औं संस्करणको इटहरी गोल्डकपमा उनको टिम उपविजेता बनेको थियो । 

झापा–११ का प्रशिक्षक गणेश खड्काले आफू खेलाडी हुँदा जितेको उपाधि अहिले प्रशिक्षकका रूपमा पनि दोहोर्‍याउन चाहेको बताए । 'म आफैंले यही मैदानमा खेल्दा उपाधि जितेको अनुभव छ, अहिले प्रशिक्षकका रूपमा त्यो इतिहास दोहोर्‍याउन चाहन्छु,' खड्काले भने, 'हामीसँग तीन विदेशी खेलाडी छन् । सम्राटलाई हामीले कमजोर ठानेका छैनौं, उनीहरूले नाम चलेका क्लबका खेलाडीहरू ल्याएका छन्, त्यसैले प्रतिस्पर्धा रोचक हुनेछ ।'

शनिबारको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५–१५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

फाइनल खेलअघि विराट गोल्डकपको ट्रफी उचाल्दै बाँयाबाट क्रमश: सम्राटका प्रशिक्षक पारस चौधरी, कप्तान अशोक खवास र झापाका कप्तान पुजन थापा र प्रशिक्षक गणेश खड्का । तस्बिर : अर्जुन सुवेदी/कान्तिपुर 

अर्जुन

Link copied successfully