हारबाट जुरुक्कै उठेकी सन्तोषी

‘गोल्डेन गर्ल’ उपनाम पाएकी उनले हालैमात्र यस्तो हार बेहोरेकी थिइन्, जसले उनलाई जीवन दर्शन दिएको थियो । सम्भवतः यही सिकाइले उनलाई कान्तिपुर हाफ म्याराथनको मुख्य विधामा महिलातर्फ विजेता बनायो ।

वैशाख ५, २०८३

विनोद पाण्डे

Santoshi, who rose from defeat

What you should know

काठमाडौँ — धाविका सन्तोषी श्रेष्ठलाई कान्तिपुर हाफ म्याराथनमा शनिबार दौडिरहँदा गुमाउनु केही थिएन । किनभने ‘गोल्डेन गर्ल’ उपनाम पाएकी उनले हालैमात्र यस्तो हार बेहोरेकी थिइन्, जसले उनलाई जीवन दर्शन दिएको थियो । खेलकुदको सुन्दरता पक्ष यही हो, हारले धेरै कुरा सिकाउँछ । 

सम्भवतः यही सिकाइले सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको मुख्य विधामा महिलातर्फ विजेता बनायो । २१.१ किलोमिटरको हाफ म्याराथन दौडमा सन्तोषी १ घन्टा १८.११ मिनेटमा पूरा गर्दै विजेता बनिन् । 

धादिङकी उनले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा दुरी पूरा गरेकी थिइन् । निशा पाल १ घन्टा १८.२६ मिनेटसाथ दोस्रो र पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डसाथ तेस्रो भए । 

Santoshi, who rose from defeat

१ लाख ५० हजारको डमी चेक र ट्रफी सम्हाल्न सन्तोषीलाई गाह्रो भइरहेको थियो, सायद यति गाह्रो उनलाई दौडका क्रममा सूर्यविनायकबाट अगाडि बढ्दा धुलो सडकमा दौडिँदा पनि लागेको थिएन । पछिल्लो ८ वर्षमा एउटामात्र हार बेहोरेकी छन् । चैत ७ मा लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा उनी पराजित भएकी थिइन् । अघिल्लो वर्षभन्दा आफ्नो प्रदर्शन सुधार्दै सन्तोषीले १ घन्टा १८.४० मिनेटको समय निकाले पनि दोस्रो भएकी थिइन् । आर्मीकी पूर्णलक्ष्मीले १ घन्टा १७.१० मिनेटमा दुरी पार गरेर सन्तोषीलाई पछाडि पारेकी थिइन् । 

‘म म्याराथनको प्रशिक्षण गरिरहेको थिएँ, एक्कासि माइलेज हाई पुर्‍याएको थिएँ, तर मैले प्रशिक्षकको प्रशिक्षणभन्दा केही फरक गरिरहेको थिएँ, ३ हजार मिटरमा कीर्तिमान बनाउनुपर्छ भनेर मैले प्रशिक्षकले भनेभन्दा पनि प्रशिक्षण परिवर्तन गरेको थिएँ । तर ज्यानले आफूले भने जस्तो नदिँदो रहेछ, जे प्रशिक्षण गर्‍यो, त्यही नै हुँदोरहेछ,’ आफ्नो पछिल्लो हारबारे सन्तोषीले भनिन्, ‘त्यो दिन मेरो थिएन, मेरो साथीहरूले पनि राम्रो कुद्नुभएको हो, उनीहरूको तारिफ गर्नैपर्छ । मैले नराम्रो कुदेको पनि हो । पानी परिरहेको भएर मेरो मसल्स जाम भएर कुद्न गाह्रो भएको थियो ।’

Santoshi, who rose from defeat

त्यस्तो हार आफूलाई जरुरी भइसकेको महसुस गरेको थिइन् उनले । किनभने त्यसले अझ राम्रो दौड्न उनलाई प्रेरित गर्दथ्यो । उनी हारप्रति पनि कृतज्ञ छिन् । हारपछि एकछिन आफैप्रति उनलाई चिन्ता नलागेको होइन, तर त्यस हारले उनी आफैप्रति रहेको सबै डर हटाइदिएको ठान्छिन् । 

सुरक्षित साथ दौडिएर कान्तिपुर हाफ म्याराथनको उपाधि जितेको सन्तोषी सुनाउँछिन् । पहिला फ्लो र पछि टुगेदर गेम खेलेर रणनीतिक हिसाबमा दौड जितेको उनले बताइन् । ‘म यो दौडका लागि तयारीमा थिइनँ अनि अस्ति भर्खर हारेको मान्छे । जहिले पनि म अग्रता लिएर दौडिन्छु, यसपटक म अरूको पछाडि रहेर दौडिएँ, लोकन्थली पुगेपछि भने मैले अग्रता लिएँ,’ सन्तोषीले सुनाइन्, ‘गत वर्षदेखि निशा र मसँगै दौडिन लागेको हो, मसँग दौडिँदा उसले जहिले राम्रो गरेको छ, त्यही भएर राम्रै प्रतिस्पर्धा भयो । ७–८ किमिसम्म समूहमै दौडिएका थियौं, त्यसपछि निशा र म अगाडि बढेका हौं ।’ 

सूयविनायक अगाडिको रुट सडक निर्माणधीन अवस्थामा रहेका कारण केही अप्ठ्यारो भएको उनको भोगाइ छ । उनले, भनिन्, ‘बाटो धुलो थियो, मलाई धुलो एलर्जी छ, त्यतिखेर केही गाह्रो भएको थियो । दौडिँदा म एकदमै धेरै बोल्छु, आज म कोहीसँग नबोलि दौडिएको थिएँ, रुटमा डिस्टर्भ गर्नेहरूलाई गाली गर्ने गर्थे, यसपटक एकनासले दौडिरहेँ ।’

Santoshi, who rose from defeat

सोमबार पोखरा एथलेटिक्स मिटमा ३ हजार मिटर दौडिँदै सन्तोषीले राजकुमारी पाण्डेको ३६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान उछिनेकी थिइन् । पोखराको सफलतापछि मध्यम दुरीदेखि म्याराथनसम्म सबै इभेन्टमा सन्तोषीले राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । एउटै खेलाडीको नाममा यति धेरै कीर्तिमान नहुने स्वयं सन्तोषीको दाबी थियो । 

३ हजार, ५ हजार, १० हजार दौड, २५ किमि, ३० किमि, हाफ म्याराथनमा सन्तोषीले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । कीर्तिमान तोडिनैका लागि बन्छ, तर यस्तो कीर्तिमान बिरलै हुने हुनाले यसलाई लिएर सन्तोषी निकै उत्साही छन् । सायद यो कीर्तिमान भंग पनि नहोला π सन्तोषी आफैलाई प्रश्न पनि गर्छिन् । यो सबैमा उनले शनिबार कान्तिपुर हाफ म्याराथनमा कोर्स रेकर्ड बनाएकी हुन्, जुन उनका लागि आशीर्वाद जस्तै हो ।

‘ट्र्याकमा ३ हजार मिटर कुदेर फेरि हाफ म्याराथनमा कुद्नु भनेको कुनै मजाक होइन । त्यसैले केही डर, केही शंका थियो । ट्र्याकमा स्पाइक लगाएर दौडिएको थिएँ, म्याराथनमा एकोहोरो दौडिनुपर्छ, म मेसिन होइन भन्ने मनमा आइरहेकाले मेरो ज्यान आफै द्विविधामा थियो,’ सन्तोषीले भनिन्, ‘के होला, कसो होला भनेर डराएर पछि हट्नुभन्दा गुमाउनु केही छैन, एउटा कसैले नमेट्ने इतिहास रच्छु भनेर दौडिएको थिएँ ।’

उनी एउटा उदाहरण बन्न सकिन्छ भनेर खेलकुदमा लागेकी थिइन् । त्यो केही हदसम्म पूरा गर्न सकेको उनलाई लागेको छ । दशक पुरानो कहानी हो, सन्तोषीले दुई पटक कान्तिपुर हाफ म्याराथन दौडेकी थिइन्, जतिखेर उनले दौड सुरु गर्दै थिइन् । उनी दुई पटक दोस्रो भइन् । त्यसपछि उनलाई कान्तिपुर हाफ म्याराथनमा दौडिने अवसर नै जुरेन । कहिले कता, कहिले कता भइन् । यसबीचमा उनले पेरिस ओलम्पिकमा पनि दौडिन् । एक दिन उनलाई जसरी पनि कान्तिपुर हाफ म्याराथन जित्नु थियो, यसपटक गत वर्ष जितेको उपाधि रक्षा नै गरिन् । 

Santoshi, who rose from defeat

गत वर्ष जितिसकेकाले यसपटक अन्तिम नै भए पनि कुनै मतलब नराखी आफू दौडिएकी उनले बताइन् । ‘मैले आफूलाई जाँच्न यसपटक दौडिएको थिएँ, यस्तो अभ्यास तालिका, यस्तो प्रशिक्षण र थकानमा मैले कस्तो प्रर्दशन दिन सक्ने रहेछु, दिमागलाई कति चलाउन सक्ने रहेछु भनेर आफ्नो सीमा बुझ्न दौडिएको थिएँ,’ उनले सुनाइन् । 

यतिका धेरै सफलतापछि उनले सोचेभन्दा धेरै सपना पूरा भएको छ । तर खास केही २–३ वटा यस्ता सपना छन्, जुन पूरा गर्ने लक्ष्यमा छन् । त्यो सपना उनले खुलाउन चाहिनन् । 

‘यो हाफ म्याराथन ‘गोल्ड लेभल’ बनोस्’

यतिका वर्षसम्म निरन्तर हुनु कान्तिपुर हाफ म्याराथनको सफलताको रूपमा आयोजना पक्षलाई लिन्छन् उनी । ‘पुरस्कार राशि राम्रो छ, यति भन्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन । म सुरुमा खेल्दा यो इभेन्टको विजेतालाई कान्तिपुरले स्कुटर दिने गर्थ्यो, अहिले मैले जित्ने बेला चाहिँ स्कुटर छैन,’ आउँदा दिनमा स्कुटर राख्न उनी आग्रह गर्छिन् । कुनै दिन स्कुटर जित्नुपर्छ भनेर उनी दशकअघि जोसिएर प्रशिक्षणमा जाने गर्थिन् । 

अझ राम्रो गर्ने कान्तिपुर हाफ म्याराथनसँग अवसर रहेको उनले देखेकी छन् । उनले बिट मारिन्, ‘आयोजक कान्तिपुर आफै मिडिया क्षेत्रको भएर प्रमोसनल र प्रायोजकको कुनै समस्या छैन, नेपाल एथलेटिक्स संघसँग आबद्ध छ । रुट व्यवस्थापन पनि उत्कृष्ट छ, नेपाल रनसँग मिलेर यसपालिदेखि हाफ म्याराथनमा चिप्स पनि राखेको छ । भारतको मेदान्ता दिल्ली हाफ म्याराथन गोल्ड लेभलमै छ, कान्तिपुरले त्यहाँसम्म पुग्ने प्रयास गर्नुपर्छ ।’

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully