बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजलाई उपाधि नजिक पुर्याउन कप्तान फागुराम थारुले हृयाटिकसहित ४ गोल गरे ।
सुनसरी — इटहरी रंगशालामा शनिबार राति भएको अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको हो ।
१६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङ भिड्ने भएका छन् ।
इटहरी रंगशालामा शनिबार राति भएको अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको हो । यसअघि पहिलो सेमिफाइनलमा शुक्रबार गछियाले साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजलाई उपाधि नजिक पुर्याउन कप्तान फागुराम थारुले हृयाटिकसहित ४ गोल गरे । रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल थपे ।
प्लानिङ ब्वाइजका लागि खेलको सुरुवाती चौथो मिनेटमा रोमन भुजेलले प्रहार गरेको कर्नर बल सिधै जालीको सम्पर्कमा पुगेको थियो । सातदोबाटोका रामबाबु शाहले बल क्लियर गर्न नसक्दा पाएको कर्नरलाई भुजेलले उत्कृष्ट गोलमा परिणत गरेका थिए । २८ औं मिनेटमा कप्तान थारुले गोल गरेर प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए ।
धिरेन्द्र शाहले दिएको पासलाई उत्कृष्ट ढंगले अघि बढाउँदै प्रहार गरेको बल सहजै गोलमा परिणत भएको थियो । लगत्तै चार मिनेट पछि फागुरामले पुन: गोल थपेर पहिलो हाफमा टिमलाई ३–० को अग्रतामा पुर्याए । अभिषेक वाइबाले कर्नर क्षेत्रबाट दिएको पासलाई उनले जाली चुमाएका थिए ।
दोस्रो हाफको तेस्रो मिनेटमा सातदोबाटोका सकल रेग्मीले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा आयो । फागुरामले दोस्रो हाफको १९ औं मिनेटमा हृयाटिक गरे । लगत्तै चार मिनेटपछि उनले पुन: गोल थपेपछि उनको व्यक्तिगत गोल संख्या चार पुग्यो । दोस्रो हाफको ३३ औं मिनेटमा प्रतापसिंहले गोल गरेपछि प्लानिङ ब्वाइज ६–१ गोल अन्तरले जित्दै उपाधि नजिक पुगेको हो ।
प्लेयर अफ द म्याच फागुराम थारु घोषित भए । उनलाई जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले नगद १० हजार हस्तान्तरण गरे । राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
