शनिबार भएको फाइनलमा गोरखाको सहिद लखन गाउँपालिकालाई ३–० ले हराउँदै धादिङको नीलकण्ठले उपाधि जितेको हो ।
गोरखा — गोरखा नगरपालिका उपप्रमुख कप भलिबल प्रतियोगिताको उपाधि धादिङको नीलकण्ठ नगरपालिकाले हात पारेको छ । शनिबार भएको फाइनलमा गोरखाको सहिद लखन गाउँपालिकालाई ३–० ले हराउँदै नीलकण्ठले उपाधि जितेको हो ।
उपाधि विजेता नीलकण्ठले १ लाख ३४ हजार ८ सय १४ रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै दोस्रो सहिद लखनले ६८ हजार १ सय ४८ रुपैयाँ पाएको छ । त्यस्तै तेस्रो बारपाक सुलिकोट र चौथो आरुघाट गाउँपालिका भएको गोरखा नगरपालिकाका खेल संयोजक प्रदीप कुँवरले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ६ टिमको सहभागिता थियो ।
