रमेश खत्री र ऐश्वर्यकुमारी कुमालले कान्तिपुर हाफ म्याराथनको ह्विलचेयर रेसतर्फको उपाधि जितेका छन् । रमेशले पुरुष र ऐश्वर्यले महिलातर्फको उपाधि जितेका हुन् ।
What you should know
काठमाडौँ — रमेश खत्री र ऐश्वर्यकुमारी कुमालले कान्तिपुर हाफ म्याराथनको ह्विलचेयर रेसतर्फको उपाधि जितेका छन् । रमेशले पुरुष र ऐश्वर्यले महिलातर्फको उपाधि जितेका हुन् ।
तिनकुने स्थित कान्तिपुर कार्यलय अगाडिबाट सुरु भएको दौडमा रमेशले ९ मिनेट २९.२२ सेकेन्डको टाइमिङ निकाले । दीपक आलेमगर ११ मिनेट ०६.०२ सेकेन्डका साथ दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७.०५ सेकेन्डका साथ तेस्रो भए । पहिलो तीनै स्थानमा आएका काठमाडौं जोरपाटीका हुन् ।
महिलातर्फ अछामकी ऐश्वर्यले १२ मिनेट २६.९९ सेकेन्डमा पुरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्री मगर १३ मिनेट ३०.६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०.०८ सेकेन्डका साथ तेस्रो भइन् ।
एथलेटिक्स संघको प्राविधिक सहयोगमा प्रतियोगिताको ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार जित्नेछन् । कान्तिपुर हाफ म्याराथनमा यसपटक सबैभन्दा धेरै झन्डै ४ हजार जनाले सहभागिता जनाइरहेका छन् । ‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भइरहेको छ ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्ने दौड प्रतियोगितामा हाफ म्याराथन, कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहनेछ । स्वाँरका अनुसार यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको छ
कान्तिपुर हाफ म्याराथनको दुरी २१.१ किमि हुनेछ । दुवै पुरुष र महिला विजेताले समान १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् ।
