त्रिभुवन आर्मी क्लबका राजन रोकायाले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् ।
What you should know
काठमाडौँ — त्रिभुवन आर्मी क्लबका राजन रोकायाले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । उनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो ।
कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु भएर कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर टुंगिएको दौड राजनले १ घन्टा ४.०३ मिनेटमा पुरा गरे ।
शीर्ष ३ मा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रहयो । अर्जुन बुढा १ घन्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घन्टा ६.५ सेकेन्डका साथ तेस्रो भए । आर्मीका खडकबहादुर खड्काले जितेका थिए । कान्तिपुर हाफ म्याराथनमा यसपटक झन्डै ४ हजार धावक दौडिएका थिए, त्यसमा हाफ म्याराथनमा मात्र १ हजार ५ सयभन्दा बढि धावक सहभागि थिए ।
एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको कान्तिपुर हाफ म्याराथनको जितेका राजनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार पाउने छन् । कान्तिपुर हाफ म्याराथनमा यसपटक सबैभन्दा धेरै झन्डै ४ हजार जनाले सहभागिता जनाइरहेका छन् । ‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भइरहेको छ ।
कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले हरेक वर्ष आयोजना गर्ने दौड प्रतियोगितामा हाफ म्याराथनबाहेक कर्पाेरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जनाले दौडिएका थिए ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहनेछ । यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको छ ।
