उनको विजयी समय १ घण्टा ४ मिनेट ०३ सेकेन्ड कान्तिपुर हाफ म्याराथनको कोर्स रेकर्ड पनि हो ।
What you should know
काठमाडौँ — पछिल्लो समय नेपाली एथलेटिक्सको पुरुषतर्फ लामो दुरीको दौडमा कोही एक धावकको लगातार वर्चस्व छ भने त्यो राजन रोकायको हो । 'कान्तिपुर हाफ म्याराथन'को शनिबार भएको दौड पनि अपवाद रहेन । त्रिभुवन आर्मी क्लबका २७ वर्षीय राजनले पुरुष हाफ म्याराथन लगभग सजिलैजस्तो गरेर जिते ।
समय रह्यो, १ घण्टा ४ मिनेट ०३ सेकेन्ड । कान्तिपुर हाफ म्याराथनको यो कोर्स रेकर्ड पनि हो । उनी कान्तिपुर हाफ म्याराथनमा च्याम्पियन भएको भने पहिलो पटक हो । भलै, उनले जितेका अन्य दौड एक दर्जनभन्दा बढी भइसकेको छ ।
यसपल्ट दौड सुरु भएदेखि अन्त्यसम्म उनी अगाडि नै रहे । अरू प्रतिस्पर्धीले उनलाई चुनौती नै पेस गर्न सकेनन् भन्दा हुन्छ । ‘आजको जितका लागि म खुसी छु । म अहिले लन्डन म्याराथनको तयारीमा छु । आजको दौड मेरा लागि त्यसकै एउटा परीक्षाजस्तै थियो । आज जुन समय निस्केको छ, त्यसले मलाई उत्साही र आत्मविश्वासी बनाएको छ,’ उनले दौडपछि सुनाए । यसअघि हरिकुमार रिमालको नाममा १ घण्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड रहेको थियो ।
‘मेरो खेल जीवनको लक्ष्य भनेकै वैकुण्ठ मानन्धरको नाममा रहेको म्याराथनको दक्षिण एसियाली कीर्तिमान तोड्नु हो । उहाँजत्तिको धावकको कीर्तिमान नजिक पुग्नु पनि मेरो लागि ठूलो उपलब्धि हो,’ राजनले थपे ।
राजनको म्याराथनमा सबैभन्दा राम्रो प्रदर्शन पछिल्लो माघमै सम्भव भएको थियो । जतिबेला उनले प्रधानसेनापति म्याराथन दौड २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरे । सन् १९८७ मा मानन्धरले कोलकातामा भएको दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गरेका थिए ।
राजनले थपे, ‘वैकुण्ठ मानन्धर गुरुले बनाउनुभएको यो कीर्तिमान पनि लगभग चार दशक पुरानो भइसकेको छ । यो कीर्तिमान उछिन्नु सबै खेलाडीको सपना हुने गर्छ । म पनि त्यही सपनाको पछाडि छु । यही कीर्तिमान उछिन्न पनि मैले कडा मेहनत गरिरहेको छु ।’ उनी जापानमा हुने एसियाली खेलकुदको तयारीमा पनि रहेका छन् । उनले त्यसमा म्याराथन र १० हजार मिटर दौड सहभागिता जनाउनेछन् । पुरुष १० हजार मिटर दौडमा पनि उनको कीर्तिमानी प्रदर्शन छ ।
अहिलेको दौडको विश्लेषण गर्दै राजनले भने, ‘दौडमा कस्तो प्रदर्शन हुन्छ भन्ने तथ्य त्यसै दिनको मौसम र परिस्थितिले पनि निर्धारण गर्ने गर्छ । मलाई लाग्छ, आजको दौड धेरै अनुकूल रह्यो । बीचमा ट्राफिकको केही व्यवधान पनि रह्यो । त्यो नभएको भए मैले निकाल्ने समय अझ राम्रो हुन्थ्यो ।’
उनले नेपाली एथलेटिक्समा पछिल्लो समय आर्मीको वर्चस्व रहनु पछाडि त्यहाँको उत्कृष्ट प्रशिक्षण र विभागीय हौसला रहेको पनि बताए । कान्तिपुर हाफ म्याराथनमा उनी यसअघि ०८१ मा दोस्रो र ०८२ मा चौथो भएका थिए ।
राजनले भनेजस्तै पुरुष हाफ म्याराथनको शीर्ष तीनमा आर्मीकै एकछत्र वर्चस्व रह्यो । आर्मीकै खेलाडी दोस्रो र तेस्रो भए ।
अर्जुन बुढा १ घण्टा ६ मिनेट ५० सेकेन्डमा दोस्रो भए । ‘म नेपाली एथलेटिक्सका लागि नयाँ खेलाडीजस्तै हुँ । आजको प्रदर्शनमा म निकै खुसी छु, किनभने मेरो छोटो खेल जीवनमा यो नै अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो र यसैक्रममा पहिलोपल्ट पदक जित्न सफल रहेँ । अबका दिनमा अझ राम्रो प्रदर्शनका लागि प्रयास गर्नेछु,’ २६ वर्षीय अर्जुनले भने ।
उनले कान्तिपुर हाफ म्याराथनमा भाग लिएको पहिलोपटक हो । पहिलो प्रयासमै दोस्रो हुन सफल रहे । दोस्रो र तेस्रो हुने खेलाडीबीच भने दौडमा तीव्र प्रतिस्पर्धा चलेको थियो । अन्त्यमा यी दुई धावकबीचको समय अन्तर असाध्यै कम रह्यो । तेस्रो स्थानमा आएका सुशील शाहीको प्रदर्शन समय रह्यो, १ घण्टा ७ मिनेट । कान्तिपुर हाफ म्याराथनमा उनको यो दोस्रो सहभागिता हो । यसअघि उनले ०८१ मा पनि तेस्रो स्थान नै हात पारेका थिए । ‘आजको प्रदर्शनलाई लिएर म खुसी छु,’ ३१ वर्षीय सुशीलले भने ।
