कान्तिपुर हाफ म्याराथन : अजय र अनुसियाले जिते कलेज रन

अजय पाण्डेले १४ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत एक्स्ट्रिम कलेज रन (७ किमि) जितेका छन् । उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जिते ।

वैशाख ५, २०८३

ध्रुव तुलाधर

Kantipur Half Marathon: Ajay and Anusiya win College Run

What you should know

काठमाडौँ — अजय पाण्डेले १४ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत एक्स्ट्रिम कलेज रन (७ किमि) जितेका छन् ।  उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जिते ।

धमेन्द्र शर्मा दोस्रो र विश्वराम कुँवर तेस्रो भए । धमेन्द्रले २६ मिनेट १८.४० सेकेन्ड र विश्वरामले २६ मिनेट २०.४५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

कलेज रनकै गर्ल्सतर्फ अनुसिया तण्डुकारले उपाधि जितिन् । उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरेका थिए । सजिना रामदामले ३६ मिनेट ३८.०० सेकेन्डबाट दोस्रो र सम्झना कुलुङ ३८ मिनेट ०७.०० सेकेन्डबाट तेस्रो भएका छन् । यस कलेज रनमा झन्डै १ हजारको सहभागिता रहेको थियो ।

‘रन फर नेपाल’ नारासहित कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करणमा सबैभन्दा धेरै ४ हजारले दौडेका थिए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितााम कलेज रनतर्फ शीर्ष तीन स्थानका ब्वाइज र गर्ल्सका विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

कलेज रन विजेताले भने आईपीएलको फाइनल हेर्न जाने अवसर पाउने भएका छन्  । आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्ने एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी बिजनेस हेड सोनिया राणाले यसअघि नै जानकारी गराएकी थिइन् ।

कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर दौड टुंगिने छ ।

कर्पोरेट एन्ड इन्फ्लुन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर कोटेश्वर पुगेर तीनकुनेमै आएर टुंगिनेछ । कलेज रन तीनकुनेबाट कोटेश्वर हुँदै गठ्ठाघर चोक पुगेर सोही रुटमा फर्कनेछ ।  

कान्तिपुर हाफ म्याराथनको सेलेब्रेसन पार्टनरमा केएफसी एन्ड पिज्जा हट, टेक्निकल पार्टनरमा नेपाल एथलेटिक्स संघ, हस्पिटल पार्टनरमा फ्रन्टलाइन अस्पताल र फुड पार्टनरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी रहेका छन् ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully