खजुरा गोल्ड कपः एपीएफलाई स्तब्ध पार्दै जोन क्लब सेमिफाइनलमा

बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियन जोन क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

वैशाख ३, २०८३

रुपा गहतराज

Khajura Gold Cup: Zone Club stuns APF to reach semifinals

नेपालगन्ज — विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । 

यसअघि गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल, फोर ब्रदर्स एफसी नवलपरासी र जेबीएम फुटबल एकेडेमी लखनउ सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बाँकेको खजुरामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगितामा नाइजेरियन जोन क्लब सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलका ‘म्यान अफ द म्याच’ दुई गोल गरेका नाइजेरियन खेलाडी ताजुदिन अकिनसोलालाई खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले १० हजार रुपैयाँसहित पुरस्कृत गरे । न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो ।

नकआउट आधारमा खेलाइएको प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । 

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाख पाउनेछन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully