इटहरी गोल्डकपः प्लानिङ ब्वाइज सेमिफाइनलमा

खेलको पाँचौं मिनेटमा फागुरामले पेनाल्टीमार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

वैशाख ३, २०८३

अर्जुन सुवेदी

Itahari Gold Cup: Planning Boys advance to semifinals

सुनसरी — १६औं संस्करणको अन्तर्राष्टि्रय आमन्त्रण इटहरी गोल्डकपको क्वाटरफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड विजयी भएको छ । बिहीबार राती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब यूकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो ।

बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ तथा धीरेन्द्र शाहले १ गोल गरे । खेलको पाँचौं मिनेटमा फागुरामले पेनाल्टीमार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । यूकेएफसीका दिवश रोयले धीरेन्द्रलाई डि–एरियामा फउल गरेपछि फिफा रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए । उक्त अवसरलाई फागुरामले सहजै गोलमा परिणत गरे । 

२३ औं मिनेटमा फागुरामले दोस्रो गोल गरे । उनले विपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए । २७औं मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै धीरेन्द्रले गोल परेपछि पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो । खेलको ५९ औं मिनेटमा यूकेएफसीका निवास राणाले १ गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

फागुराम खेलको प्लेयर अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए । शुक्रबारको पहिलो सेमिफाइनल खेलमा  युवा समाज र साबिक विजेता मछिन्द्र फुटबल क्लबबीच खेल हुनेछ । फाइनल खेल वैशाख ७ गते हुनेछ । फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अर्जुन

Link copied successfully