अन्तिम विकेटका रूपमा आएका आकाश चन्दले प्रहार गरेको चौकाले आर्मीलाई लुम्बिनीविरुद्ध जित दिलायो।
जनकपुर — पीएम क्रिकेट कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रोमाञ्चक खेलमा संघर्षपूर्ण एक विकेटले विजय हासिल गरेको छ।
जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा पहिले ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले ३९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो।
लुम्बिनी प्रदेशका ओपनर ब्याटर प्रज्वल थापाले ३३ बलमा १५ रन र रञ्जित खत्री खड्काले ५५ बलमा २८ रन बनाएका थिए। अर्का ब्याटर देव खनालले ३६ बलमा २३ रन, दिनेश बोहराले १३ बलमा १० रन, आकाश त्रिपाठीले ४० बलमा २१ रन र सन्तोष यादवले १० बलमा ११ रन बनाएका थिए। बाँकी ब्याटर दर्श सोनार, सल्लाउदीन खान, निर्मल गुरुङ र विपर्शन केसीले दोहोरो अंकको रन जोड्न सकेनन्। लुम्बिनी प्रदेशले अतिरिक्त ७ रन पाएको थियो।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका बलर कुशल मल्लले ८ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। नरेन साउदले ७ ओभरमा ३८ रन दिएर २ विकेट, भीम सार्कीले १.२ ओभरमा २ रन दिएर २ विकेट, साहब आलमले ९ ओभरमा २६ रन दिएर १ विकेट र वसिर अहमदले १० ओभरमा २९ रन खर्चेर १ विकेट लिए।
१ सय ३९ रनको विजयी लक्ष्य पाएको त्रिभुवन आर्मी क्लबका ओपनर ब्याटर सस्तोमै पभेलियन फर्किएका थिए। ओपनर तृतराज दास ४ बलमा १० रन बनाएर आउट भए भने कप्तान बिनोद भण्डारी २ बल खेलेर शून्य रनमै पभेलियन फर्किए। आर्मीका अर्का ब्याटर भीम सार्कीले १३ बलमा १८ रन, कुशल मल्लले ३६ बलमा ४१ रन, अर्जुन साउदले ३६ बलमा २८ रन, इमरान शेखले २८ बलमा १६ रन, जितेन्द्र सिंह ठकुरीले १५ बलमा १० रन र वसिर अहमदले १४ बलमा १२ रन बनाए।
दुई ब्याटर नरेन साउद र साहब आलम लगातार आउट भएपछि ९ विकेटको क्षतिमा आर्मीले १ सय ३४ रन मात्र बनाएको थियो। अन्तिम विकेट बाँकी रहँदा आर्मी जितभन्दा ५ रन पछाडि थियो। अन्तिम विकेटका रूपमा आएका आकाश चन्दले प्रहार गरेको चौकाले आर्मीलाई जित दिलायो। चन्दले चौका प्रहार गर्नुअघि इमरान शेखले ३ रन जोडेका थिए।
२५.२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको आर्मीले १ विकेटले लुम्बिनी प्रदेशलाई पराजित गर्यो। लुम्बिनीका बलर सन्तोष यादवले ६ ओभरमा १७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए भने निर्मल गुरुङले ९ ओभरमा ४० रन दिएर ४ विकेट लिए।
