झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
सुनसरी — विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा–११ फुटबल क्लब विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो । झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७औं मिनेटमा जाली चुमाउँदा झापाको जित सुनिश्चित बनेको हो ।
खेलको प्यलेर अफ द म्याद झापा–११ का स्वलोमन किङ भए । उनले नगद ११ हजार पाए ।
खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा पुलिसका सञ्जीव लामाको प्रहार बाहिरिएको थियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन ।
पुलिसका लागि २८ औं मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । ४० औं मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुकेको थियो ।
झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
