नवलपरासीको फोर ब्रदर्स एफसी सेमिफाइनलमा

फोर ब्रदर्सले सुर्खेतको काँक्रेविहार क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । फोर ब्रदर्सको जितमा नवीन महतो एक्लैले ४ गोल गरे ।

वैशाख २, २०८३

रुपा गहतराज

Four Brothers FC of Nawalparasi advances to semifinals

नेपालगन्ज — एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सुर्खेतको काँक्रेबिहार क्लबलाई पराजित गर्दै नवलपरासीको फोर ब्रदर्स एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । 

फोर ब्रदर्सले सुर्खेतको काँक्रेविहार क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । फोर ब्रदर्सको जितमा नवीन महतो एक्लैले ४ गोल गरे । टिमका कप्तानसमेत रहेका महतोले ८ औं, १७औं, ३९औं र ८२औं मिनेटमा गोल गरेका थिए । काँक्रेबिहारका तर्फबाट सन्दीप देउवाले १८औं मिनेट र सुनिल मल्लले ६३औं मिनेटमा गोल गरेका थिए । 

न्यु डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा प्रतियोगिता सुरु भएको हो ।नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगिता वैशाख ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा ८ टिम सहभागी छन् । 

खजुरामा पहिलो पटक आयोजना गरिएको गोल्डकपमा विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully