इटहरी रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडेनडेथबाट लिइएको हो ।
What you should know
सुनसरी — एक शून्यले पछि परेको अवस्था उल्टाउँदै साबिक विजेता मछिन्द्र फुटबल क्लब १६ औं संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ फुटबल क्लबलाई सडेनडेथमा ८–७ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले अन्तिम चारको यात्रा तय गरेको हो ।
इटहरी रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडेनडेथबाट लिइएको हो । सडेनडेथमा झापाका विशाल मादीको प्रहार आकाशिएपछि मछिन्द्रको जित सम्भव भएको हो । त्यसअघि मछिन्द्रको तर्फबाट प्रहार गरिएका ८ वटा प्रहार गोलमा परिणत भएका थिए । तर पेमा तामाङको प्रहार झापाली गोलकिपर मौसम मगरले विफल तुल्याए । देवेन्द्र तामाङ, सनिस श्रेष्ठ, दिपेश गुरुङ, मिलन राई, सौरभ लिम्बु, एलिक श्रेष्ठ, विशाल भण्डारी र रोहित चन्दको प्रहार गोलमा परिणत भएको थियो ।
झापाका तर्फबाट प्रशान्त लिम्बु, निशान बस्नेत, बाबा टुण्डे, स्मार्टा मिउटु सलोमन किंग, राजेश दाहाल, किरन सुमारले गोल गर्दा गोलकिपर मौसम मगरको प्रहार आकाशिएको थियो । त्यसअघि निर्धारित समयको ५५ औं मिनेटमा बाबा टुण्डेको गोलबाट अग्रता लिएको झापाली टिमविरुद्ध ४३ औं मिनेटमा मछिन्द्रले पेनाल्टीमार्फत गोल फर्काएपछि खेल १–१ को अवस्थामा आएको थियो ।
डि–एरियाभित्र अनुभवी खेलाडी योगेश गुरुङको हेन्ड भएपछि फिफा रेफ्री उमेश बिडारीले मछिन्द्रलाई पेनाल्टी हान्ने अवसर दिएका थिए । सो अवसरलाई सनिसले खेर नफाली बललाई सिधै जाली चुमाए । बाँकी समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउट हुँदै सडेनडेथमा पुगेको थियो ।
सनिस ‘प्लेयर अफ द म्याच’ भए । मछिन्द्रले अब शुक्रबार युवा समाज मोरङसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । युवा समाज उद्घाटन खेलमा जस्टजोन एफसी नाइजेरियालाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।
इटहरी गोल्डकपमा दोस्रोपटक सहभागिता जनाएको मछिन्द्र र झापा–११ बीच अघिल्लो संस्करणमा पनि क्वाटरफाइनलमा भेट भएको थियो । उक्त खेलमा मछिन्द्रले १–० को संघर्षपूर्ण जित निकालेको थियो ।
बुधबारको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक राष्टि्रय जागृति क्लबले सातदोबाटो युथ क्लब ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । वैशाख ७ गतेसम्म चल्ने गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
