टस जितेर पहिले फिल्डिङ रोजेको गण्डकीले कर्णालीलाई २५ ओभर २ बलमा ७२ रनमा समेट्यो।
पर्सा — बलर बिपिन खत्री चम्किएपछि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार वीरगन्जमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ९ विकेटको सहज जित हात पारेको छ।
टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले उत्कृष्ट बलिङ र सशक्त ब्याटिङ प्रदर्शन गर्दै एकतर्फी नतिजा निकालेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको गण्डकीले कर्णालीलाई २५ ओभर २ बलमा ७२ रनमा समेट्यो।
कर्णालीका लागि प्रकाश जैसीले ३६ बलमा अविजित १५ रन र दिवान पुनले २७ बलमा १४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
गण्डकीका बलर खत्रीले घातक प्रदर्शन गर्दै १० ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। उनले ४ ओभर म्याडेन राखेका थिए । अर्का बलर अपराजित पौडेलले ७ ओभरमा २८ रन दिएर ३ विकेट झारे।
७३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमै १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। गण्डकीका लागि सिव्रिन श्रेष्ठले ३४ बलमा अविजित ४० रन बनाए भने दीपक डुम्रेले १८ बलमा अविजित २२ रनको योगदान दिए।
कर्णालीका बलरले खासै प्रभाव पार्न सकेनन्। बलिङतर्फ विपिन शर्माले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए भने दीपेन्द्र रावत ४ ओभरमा १० रन दिएर विकेटविहीन रहे।
उत्कृष्ट प्रदर्शन गरेका गण्डकीका विपिन खत्री ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ५ विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका खेलेका थिए ।
