पीएम क्रिकेट कप : १ सय ८५ रनले आर्मी विजयी

जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ६३ रनको विशाल स्कोर बनाएको थियो । जितका लागि ३ सय ६४ रनको लक्ष्य पाएको कोशी प्रदेश ३६ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रनमै समेटियो ।

चैत्र ३०, २०८२

अजित तिवारी

PM Cricket Cup: Army wins by 185 runs

What you should know

जनकपुर — कप्तान विनोद भण्डारीको विस्फोटक ब्याटिङले प्रधानमन्त्री (पीएम) क्रिकेट कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागिय टिम त्रिभुवन आर्मी क्लबले विशाल रनअन्तरले कोशी प्रदेशलाई पराजित गरेको छ । 

जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ६३ रनको विशाल स्कोर बनाएको थियो । आर्मीका ओपनर ब्याटर कप्तान भण्डारीले १ सय ५० बलमा शानदार १ सय ८९ रन बनाएका थिए । दोहोरो शतक बनाउनतिर अग्रसर देखिएका भण्डारी कोशी प्रदेशका बलर आशिष राना मगरको बलमा सट हिर्काउन खोज्दा ब्याटमा लागेर बल स्टम्पमा ठोक्किएको थियो । 

विभागीय टिम त्रिभुवन आर्मी क्लबका अर्का ब्याटर भीम सार्कीले ८५ बलमा ८० रन बनाए । अर्का ओपनर ब्याटर तृतराज दासले ३४ बलमा ३३ रन, जितेन्द्रसिंह ठकुरीले २५ बलमा ३१ रन बनाएका थिए । आर्मीका अरु ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीले अतिरिक्त ५ रन पाएको थियो । 

कोशी प्रदेशका बलर विपीनकुमार महतोले १० ओभरमा ६९ रन दिएर ३ विकेट लिएका थिए । अर्का बलर दिपेश कँडेलले १० ओभरमा ७२ रन खर्चिंदै १ विकेट, रोशन साहले ९ ओभरमा ५४ रन दिएर १ विकेट र आशिष राना मगरले ५ ओभरमा ४६ रन खर्चिएर १ विकेट लिएका थिए । 

जितका लागि ३ सय ६४ रनको लक्ष्य पाएको कोशी प्रदेश ३६ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रनमै समेटियो । कोशी प्रदेशका व्याटर सुजन थपलियाले २६ बलमा ३०, शिवास बजगार्इंले ४७ बलमा ३७, प्रभातकिरण राईले ४५ बलमा ३८, आशिष राना मगरले २८ बलमा २५ र दिपेश कँडेलले ३० बलमा १३ रन बनाएका थिए । कोशी प्रदेशका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीले अतिरिक्त १३ रन जोडेको थियो । 

त्रिभुवन आर्मी क्लबका बलर आकाश चन्दले ७ ओभरमा ४२ रन खर्चिएर ३ विकेट, साहब आलमले ८ ओभरमा २१ रन दिएर १ विकेट, वसिर अहमदले ९ ओभरमा ३९ रन दिएर २ विकेट, पवन कार्कीले ५ ओभरमा २४ रन दिँदै १ विकेट र नरेन साउदले ६ ओभरमा ४० रन खर्चिएर १ विकेट लिए । 

विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग १ सय ८५ रनले पराजित भएको कोशी प्रदेश यस प्रतियोगितामा खेलेका ८ वटा खेलमा नै पराजित भएको छ । अंक तालिकामा आर्मी शीर्ष स्थानमा छ भने कोशी प्रदेश पुछारमा छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully