देवदह क्रिकेट क्लब ‘ए’ डिभिजनमा

‘बी’ डिभिजनको सोमबारको खेलमा स्टार क्रिकेट क्लबलाई ४१ रनले हराउँदै देवदह ‘ए’ डिभिजनमा बढुवा भएको हो ।

चैत्र ३०, २०८२

माधव ढुंगाना

Devdaha Cricket Club in the 'A' Division

भैरहवा — २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लब पनि ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । 

‘बी’ डिभिजनको सोमबारको खेलमा स्टार क्रिकेट क्लबलाई ४१ रनले हराउँदै देवदह ‘ए’ डिभिजनमा बढुवा भएको हो । यसअघि बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा बढुवा भइसकेको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले ४९ ओभर ५ बलमा १ सय ७२ रनको बलियो योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ४१, सुरज खड्काले ३५, संकेत भट्टराईले २८ र शशिधर टण्डनले १२ रन बनाए । 

बलिङमा स्टारका तुलबहादुर थापाले ३ तथा फैजन खान, शुभम खनाल र सिद्धार्थ ढकालले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको स्टार ४५ ओभर ३ बलमा १ सय ३१ रनमै समेटियो । उसका लागि शुभम खनालले ३२, समिप पौडेलले २२, कृष्ण विक र विन्दराम यादवले १९–१९ तथा तुलबहादुर थापाले १० रन बनाए । 

बलिङमा देवदहका कृष्ण पराजुलीले ४ तथा सुदीप अर्याल र कृष्ण कार्कीले समान ३–३ विकेट हात पारे । खेलमा कृष्ण कार्की ‘प्लेयर अफ द म्याच’ भए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully