पीएम क्रिकेट कपमा १३ अंकसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा, १२ अंकसहित सुदूरपश्चिम दोस्रो र ९ अंकसहित नेपाल पुलिस क्लब तेस्रो स्थानमा छन् ।
What you should know
जनकपुर — प्रधानमन्त्री (पीएम) क्रिकेट कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ५६ रनले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । विभागीय टिम पुलिस क्लबले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
जनकपुरको प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले ४०.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । सुदूरपश्चिमका ब्याटर नारायण जोशीले ८० बलमा सर्वाधिक ८२ रन बनाए ।
ओपनिङ ब्याटर अभिषेक पालले पहिलो वलमा चौका प्रहार गर्दै खेलको सुरुवात गरे पनि दोस्रो बलमा नै उनी आउट भएका थिए । अर्का ब्याटर खड्ग बोहराले ३२ बलमा २२ रन, राजु रिजालले २८ बलमा १६ रन, किरण ठगुन्नाले २८ बलमा १९ रन, अशोक धामीले २१ बलमा १७ रन र हेमन्त धामीले २६ बलमा २० रन बनाएका थिए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त ५ रन जोडेको थियो ।
विभागीय टिम नेपाल पुलिस क्लबका बलर दिनेश खरेलले ९ ओभरमा १७ रन खर्चिएर सर्वाधिक ४ विकेट, सागर ढकालले १० ओभरमा ५३ रन दिँदै ३ विकेट, कुशल भूर्तेलले २.४ ओभरमा १६ रन खर्चिएर २ विकेट र गुलशन झाले ९ ओभरमा ३४ रन दिएर १ विकेट लिए ।
१ सय ९२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाल पुलिस क्लबका प्रारम्भिक ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ३५.१ ओभरमा सबै विकेट गुमाएर पुलिस क्लबले १ सय ३५ रन मात्र बनाउन सक्यो । पुलिसका ब्याटर गुलशन झाले अर्धशतक बनाएका थिए ।
पुलिस क्लबका ओपनर ब्याटर दिपेश खरेलले २३ बलमा १० रन बनाएर आउट भए । अर्का ओपनर कुशल भूर्तेल भने शून्यमा नै पवेलियन फर्किए । अरू ब्याटरमा शंकर रानाले १०, अमित श्रेष्ठले १७ बलमा १९ रन, आरिफ शेखले ४१ बलमा १९ रन, दिलशाद अलीले २९ बलमा १९ रन र गुलशन झाले ६४ बलमा सर्वाधिक ५० रन बनाएका थिए । पुलिस क्लबले अतिरिक्त ४ रन जोडेको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर हेमन्त धामीले ९ ओभरमा २१ रन खर्चिएर ३ विकेट, शेर मल्लले १० ओभरमा ४९ रन दिएर ३ विकेट, खड्ग बोहराले ४.१ ओभरमा ३ रन दिएर १ विकेट, नारायण जोशीले ५ ओभरमा २२ रन खर्चिएर १ विकेट र अशोक धामीले ५ ओभरमा २० दिएर १ विकेट लिएका थिए । पीएम क्रिकेट कपमा १३ अंकसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा, १२ अंकसहित सुदूरपश्चिम दोस्रो र ९ अंकसहित नेपाल पुलिस क्लब तेस्रो स्थानमा छन् ।
