राष्ट्रिय रग्बी सेभेन्स : महिलातर्फ आर्मी र एपीएफ फाइनल भिड्ने

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले ५-५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

चैत्र २९, २०८२

ध्रुव तुलाधर

National Rugby Sevens: Army and APF to meet in women's final

काठमाडौँ — राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिपअन्तर्गत महिलातर्फ फाइनल समीकरण पनि पूरा भएको छ। उपाधिका लागि विभागीय दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन्  ।

नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा एकतर्फी प्रदर्शन गर्दै फाइनल यात्रा तय गरे।

पहिलो सेमिफाइनलमा एपीएफले बागमती प्रदेशमाथि ३९-० को जित दर्ता गर्‍यो। दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ३६-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। 

समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए।

यसअघि पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने भएका छन्। तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन्।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले ५-५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully