जितका लागि पाएको १ सय ३ रनको लक्ष्यलाई देवदहले १८ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा १ सय ६ रन बनाउँदै भेट्टायो ।
भैरहवा — रूपन्देही सुपरलिग एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ । उसले प्रोफेसनल मास्टर्स–११ लाई ७ विकेटले हराउँदै जित निकालेको हो ।
जितका लागि पाएको १ सय ३ रनको लक्ष्यलाई देवदहले १८ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा १ सय ६ रन बनाउँदै भेट्टायो । उसको जितमा सुजन गौतमले ७१ र विष्णु कटरियाले अविजित १२ रनको योगदान गरे । बलिङमा प्रोफेसनलका करण यादव, सोइब हसन मुसलमान र निरज मौर्यले १–१ विकेट लिए ।
यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ३४ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय २ रनको सामान्य योगफल खडा गरेको थियो । उसका लागि समीर कँडेलले २४, सार्थक धितालले २२ र करण यादवले १७ रन बनाए ।
बलिङमा देवदहका कृष्ण कार्कीले ४, सुरज खड्काले ३ तथा सिद्धार्थ टण्डन, विष्णु कटरिया र रोशन गौतमले समान १–१ विकेट लिए । खेलमा कृष्ण कार्की ‘प्लेयर अफ द म्याच’ भए ।
