महिला ६८ केजीमाथि तौल समूहका प्रतिस्पर्धी एरिकाले शनिबार सेमिफाइनलमा इटालीकी फेराकुट्टी क्लिओलाई ८–३ अंकले हराएर फाइनल सुरक्षित गरेकी छन् ।
काठमाडौँ — कराते खेलाडी एरिका गुरुङ अर्को अन्तर्राष्ट्रिय स्वर्ण पदकको नजिक पुगेकी छन् । ऐतिहासिक पदकधारी एरिका चीनको लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पुगेकी छन् ।
महिला ६८ केजीमाथि तौल समूहका प्रतिस्पर्धी एरिकाले शनिबार सेमिफाइनलमा इटालीकी फेराकुट्टी क्लिओलाई ८–३ अंकले हराएर फाइनल सुरक्षित गरेकी छन् ।
उनले समूह चरणका तीनै खेल जितेर क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । समूह तीनमा रहेकी एरिकाले जोहाना केनरलाई २–१ अंकले, दामजानोभिच जोभानालाई २–० अंकले र मारिया मालाखाभालाई १–१ ले स्कोर बराबरी पछि सेन्सुमा हराएकी थिइन् ।
क्वाटरफाइनलमा स्लोभेनियाकी मारिया जिब्रेट जालालाई एकपक्षीय रूपमा ८–० अंकले हराएर सेमिफाइनल स्थान बनाएकी थिइन् ।
एरिकाले अब फाइनलमा काजकिस्तानकी सोफिया बर्लुत्सोभाविरुद्ध प्रतिस्पर्धा गर्ने छिन् । तीनमहिना अघि टर्कीमा भएको प्रिमियर लिगमा एरिका फाइनलमा उनीसँग पराजित भएर रजतमा सीमित भएकी थिइन् । यसपालि एरिकालाई उनीविरुद्ध चिनियाँ भूमिमा बदला लिने अवसर छ ।
चीनमै उनले नेपालका लागि हाङचाउ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । जुन नेपालले एसियाड करातेमा जितेको पहिलो रजत पदक थियो ।
