पीएम क्रिकेट कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले वर्षाले रोकिएको उद्घाटन खेलमा १ अंक पाएयता खेलेका सबै खेलमा पराजय भोगेको छ ।
जनकपुर — विजयी लक्ष्य पुग्न ५ रन बाँकी छँदै सबै विकेट गुमाएको कोशी प्रदेश विभागीय टिम नेपाल एपीएफ क्लबसँग पराजित भएको छ ।
पीएम क्रिकेट कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले वर्षाले रोकिएको उद्घाटन खेलमा १ अंक पाएयता खेलेका सबै खेलमा पराजय भोगेको छ ।
जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एपीएफ क्लबले पहिला ब्याटिङ गर्दै ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । नेपाल एपीएफ क्लबका सुरुवाती ब्याटर दीपक बोहरा र आशिफ शेख सस्तैमा पवेलियन फर्किएका थिए । बोहराले १४ वलमा ५ रन र शेखले ३ बलमा १ रन बनाउँदै आउट भएका थिए ।
नेपाल एपीएफ क्लबका कप्तान रोहित पौडेलले ३० बलमा २० रन बनाए भने ब्याटर सन्दीप जोराले सर्वाधिक ९४ बलमा ७२ रन बनाएका थिए । भुवन कर्मीले ४ रन, सुमित महर्जनले ७३ वलमा ५७ रन, लोकेश बमले ४ रन, अमरसिंह रतौलाले ३० वलमा २७ रन, अभिषेक गौतमले ३ रन र युवराज खत्रीले १२ बलमा ११ रन बनाएका थिए । नेपाल एपीएफ क्लबले अतिरिक्त २० रन जोडेका थिए ।
कोशी प्रदेशका बलर सुजन थपलियाले १० ओभर फ्याँक्दै ३८ रन खर्चिएर ३ विकेट, वीपीनकुमार महतोले ९ ओभरमा ३४ रन दिँदै २ विकेट, दीपेश कँडेलले १० ओभर फ्याक्दै ३७ रन खर्चिएर २ विकेट र रोशन साहले ७ ओभरमा ४२ रन दिँदै १ विकेट लिएका थिए ।
२ सय २६ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कोशी प्रदेशका ब्याटरले सुरुआतदेखि नै राम्रो प्रदर्शन गरेका थिए । तर, अन्तिम ओभरको ६ बलमा ९ रनको आवश्यकता रहँदा कोशी प्रदेशले अन्तिम दुई विकेट गुमाउन पुगे । कोशी प्रदेशले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सके ।
कोशी प्रदेशका ओपनिङ ब्याटर अंकित सुवेदीले ६७ वलमा सर्वाधिक ७२ रन र अर्का ओपनर सुमन श्रेष्ठले १३२ बलमा ६५ रन बनाएका थिए । कोशी प्रदेशका ओपनर दुवै ब्याटरको अर्धशतकले मजबुत बनेको थियो । अर्का ब्याटर रोशन साहले ३२ बलमा ३२ रन, आशिष राना मगर १७ रन बनाएका थिए । कोशी प्रदेशका बाँकी ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
नेपाल एपीएफ क्लबका बलर अभिषेक गौतमले १० ओभरमा ४१ रन खर्चिदै ४ विकेट, रोहित पौडेलले ९.५ ओभरमा ४४ रन दिँदै २ विकेट, अमरसिंह रतौलाले ६.५ ओभर फ्याक्द्र २१ रन खर्चिएर १ विकेट र भुवन कार्कीले १० ओभरमा ४४ रन दिएर १ विकेट लिएका थिए ।
