बागमतीद्वारा मधेश ३६ रनले पराजित

वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको मधेश ३४ ओभर ३ बलमा १ सय ७३ रनमा अलआउट भयो।

चैत्र २७, २०८२

शंकर आचार्य

Bagmati defeats Madhesh by 36 runs

What you should know

पर्सा — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार वीरगन्जमा भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३६ रनले पराजित गरेको छ।

वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले प्रस्तुत गरेको २ सय ९ रनको लक्ष्य पछ्याएको मधेश ३४ ओभर ३ बलमा १ सय ७३ रनमा अलआउट भयो।

टस जितेर पहिले फिल्डिङ रोजेको मधेशले सुरुआती दबाब कायम राखे पनि लक्ष्य पछ्याउने क्रममा कमजोर प्रदर्शन गर्दा हार बेहोर्नुपरेको हो। पहिले ब्याटिङ गरेको बागमती ४८ ओभर ४ बलमा २ सय ८ रनको सामान्य योगफल तयार गर्यो ।

बागमतीका लागि उत्तम मगरले ७५ बलमा ४४ रन बनाए भने कप्तान सन्दीप लामिछानेले ३४ बलमा ३६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले सन्तोषजनक सुरुआत गरे पनि ठूलो साझेदारी बनाउन नसक्दा टोली मध्यम स्कोरमा सीमित रह्यो।

मधेशका बलरमध्ये पवन सर्राफले १० ओभरमा ३१ रन दिई ३ विकेट लिए भने रन्जित कुमारले १० ओभरमा ३५ रन दिई २ विकेट झारे। उनीहरूले बागमतीलाई ठूलो स्कोर बनाउनबाट रोके पनि लक्ष्य पछ्याउँदा टोलीले त्यसलाई उपयोग गर्न सकेन।

जवाफी ब्याटिङमा मधेशका मयान यादवले ५० बलमा ४० रन बनाए भने महम्मद आदिल आलमले २० बलमा २७ रन जोडे। तर अन्य ब्याटर चल्न नसक्दा टोली लक्ष्यभन्दा ३५ रनले पछि रह्यो।

बागमतीको जितमा प्रतिश जीसी नायक बने। उनले ९ ओभर ३ बलमा ५५ रन दिई ५ विकेट लिँदै मधेशको इनिङ्स धराशायी बनाए। उनलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।

रिजन ढकालले ९ ओभरमा ४२ रन दिई २ विकेट लिएर उनलाई राम्रो साथ दिए। व्याटिङमा जमेका सन्दिप लामिछाने शुक्रबार बलिङकमा त्यति सफल भएनन् । उनले १० ओभरमा ४५ रन दिई १ मात्र विकेट हात पारे । सुभाष कार्कीले पनि १ विकेट झारे ।

यस जितसँगै बागमतीले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ भने मधेशमाथि आगामी खेलमा जित निकाल्ने दबाब बढेको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully