त्रिभुवन आर्मी क्लबले कप्तान विनोद भण्डारीको शतकीय पारीको मद्दतले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्दै शीर्ष स्थान कायम राखेको छ।
What you should know
जनकपुर — कप्तान विनोद भण्डारीको शतकले विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) क्रिकेट कप पुरुष राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी यात्रा जारी राखेको छ ।
सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी पीएम क्रिकेट कपमा १३ अंकसहित शीर्ष स्थानमा अडिग छ । सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा छ ।
जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
सुदूरपश्चिमका ओपनिङ ब्याटर खड्ग बोहरा र अभिषेक पाल सस्तोमै पवेलियन फर्किएका थिए । बोहरा १४ बलमा १३ रन र पालले ४१ बलमा २४ बनाएर आउट भए ।
त्यसपछि आएका सुदूरपश्चिमका ब्याटरहरुले पनि खासै रन जुटाउन सकेनन् । ब्याटर प्रकाश पाण्डेयले ८, नरेश भट्टले ३, दीपक बोहराले ७, अशोक धामीले ११, भीम बोहराले ३ रन मात्र बनाए । प्रारम्भदेखि नै ब्याटिङ अर्डर राम्रो प्रदर्शन नगरेपछि ९८ रनमै ८ विकेट गुमाएको सुदूरपश्चिम संघर्षमय बनेको थियो । सुदूरपश्चिमका ब्याटर नारायण जोशी र विकास आग्रीको साझेदारीले अन्तिम विकेट क्षतिअघि राम्रो रन जोडिएको थियो । जोशीले ६४ बलमा ६३ रन बनाए । आग्रीले ९ रन बनाएका थिए । अतिरिक्त ८ रन पाएको सुदूरपश्चिम ३८.१ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो ।
आर्मीका बलर बसिर अहमदले ९.१ ओभरमा ३५ रन खर्चँदै सर्वाधिक ५ विकेट लिए । अर्का बलर साहब आलमले १० ओभरमा २९ रन दिएर २ विकेट, नरेश साउँदले १० ओभरमा २८ रन खर्चँदै २ विकेट र अशोक चन्दले ४ ओभर फ्याक्दै ३२ रन दिएर १ विकेट लिएका थिए ।
१ सय ५१ रनको बिजयी लक्ष्य लिएर ब्याटिङमा उत्रिएको आर्मी क्लबले सुरुवाती ओभरदेखि नै बिष्फोटक ब्याटिङ गरेको थियो । आर्मीले २०.२ ओभरमा नै ३ विकेटको क्षतिमा १ सय ५५ रन बनाए । सुदुरपश्चिमलाई ७ विकेटले पराजित गरेको त्रिभुवन आर्मी क्लबको जितमा कप्तान विनोद भण्डारीले शतकीय पारीको योगदान गरे ।
भण्डारीले ७५ बलमा १ सय रन बनाए । यस्तै, अर्का ब्याटर कुशल मल्लले १८ बलमा २६ रन, तृतराज दासले ५ रन, भीम सार्कीले २५ बलमा १६ रन बनाएका थिए । आर्मीले अतिरिक्त ५ रन पाएको थियो । सुदूरपश्चिमका बलर शेर मल्लले ७ ओभरमा ५२ रन दिँदै २ विकेट र मिलन बोहराले ४ ओभरमा २३ रन दिँदै १ विकेट लिएका थिए ।
