मुकुलको असाधारण ब्याटिङमा लखनउद्वारा कोलाकाता पराजित

टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८१ रन बनाएको थियो । मुकुल चौधरीले २७ बलमा अविजित ५४ रन बनाएपछि लखनउले इडेन गार्डेनमा १ सय ८२ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो ।

चैत्र २६, २०८२

एजेन्सी

Lucknow defeat Kolkata on Mukul's exceptional batting

What you should know

कोलकाता — मुकुल चौधरीको असाधारण ब्याटिङमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलाकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ । मुकुलले २७ बलमा अविजित ५४ रन बनाएपछि लखनउले इडेन गार्डेनमा १ सय ८२ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्‍यो । 

मुकुलले २ चौका र ७ छक्का प्रहार गरे । उनले अभेष खानसँग आठौं विकेटमा ५४ रनको अविजित साझेदारी गरे । त्यसमा अभेषको योगदान ३ बलमा १ रन थियो । आयुष बदोनीले पनि ५४ रन नै बनाए । उनले ३४ बल खेली ७ चौका र २ छक्का प्रहार गरे । 

ओपनरद्वय मिचेल मार्श १५ र एडेन मारक्रम २२ रनमा आउट भए । कप्तान रिषभ पन्त १० रनमै आउट भए । निकोलस पुरनले १३ र अब्दुल समादले २ रनमात्र बनाउन सके । कोलकाताबाट नभदिप सैनीले ४ ओभरमा ३२ र वैभव अरोराले ४ ओभरमा ३८ रन खर्चेर २–२ विकेट लिए । सुनिल नारिनले ४ ओभरमा १३ रनमात्र खर्चेर १ विकेट लिए । कार्तिक त्यागी र क्यामरन ग्रिनले पनि १–१ विकेट लिए । 

लखनउ ३ खेलमा दोस्रो विजय हात पार्दै पाँचौं स्थानमा उक्लेको छ । विजयहीन रहेको कोलकाता ४ खेलमा १ अंकमात्र जोडेर नवौं स्थानमा छ । 

यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ८१ रन बनाएको थियो । फिन एलेन ९ रनमै आउट भए पनि उनका ओपनिङ जोडी एवं कप्तान अजिन्क्या रहानेले ४१ रन बनाए । उनले २४ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । 

अंगक्रिस रघुवंशीले सर्वाधिक ४५ रन बनाए । सो क्रममा उनले ३३ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । रिंकु सिंह ४ रनमा आउट भए । ग्रिन ३२ र रोभमन पोवेल ३९ रनमा अविजित रहे । ग्रिनीले २४ बल खेली ३ चौका र १ छक्का तथा पोवेलले २४ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । लखउनका प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्भेष राठी र अभेष खानले १–१ विकेट लिए ।

एजेन्सी

Link copied successfully