त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा गोल्डेनगेटले ८८–५५ स्कोरको नतिजा निकाल्यो । अब गोल्डेनगेटले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा गोल्डेनगेटलाई नै हराएर आर्मी फाइनल पुगिसकेको हो ।
काठमाडौँ — गोल्डेनगेट बास्केटबल क्लबले बिहीबार हिमालयन जाभा नेसनल बास्केटबल लिगको दोस्रो क्वालिफायरमा टाइम्स बास्केटबल क्लबलाई हराएर फाइनलमा स्थान बनायो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा गोल्डेनगेटले ८८–५५ स्कोरको नतिजा निकाल्यो । अब गोल्डेनगेटले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा गोल्डेनगेटलाई नै हराएर आर्मी फाइनल पुगिसकेको हो ।
लिग चरणमा आर्मी पहिलो र गोल्डेनगेट दोस्रो स्थानमा थियो । अब आर्मी र गोल्डेनगेटबीचको फाइनल चैत २८ गते शनिबार हुनेछ ।
लिगमा तेस्रो स्थानमा रहेको टाइम्सले इलिमिनेटरमा केभिसी हाउन्ड्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । तर गोल्डेनगेटको चुनौती भने पार गर्न नसक्दा साबिक विजेता टाइम्स फाइनल पुग्न असफल रह्यो ।
पहिलो क्वाटरमा २५–१७ को अग्रता बनाएको गोल्डेनगेट दोस्रो क्वाटरमा २१–२० को झिनो अग्रता लियो । हाफटाइमसम्म गोल्डेनगेट ४६–३७ ले अगाडि रह्यो । तेस्रो क्वाटर १५–८ र चौथो क्वाटर २७–१० ले आफ्नो पक्षमा पारेपछि गोल्डेनगेट फराकिलो जित निकाल्न सफल भयो ।
गोल्डेनगेटका पाकिस्तानी खेलाडी जैन खानले सर्वाधिक ३१ स्कोर गरे । उनी प्लेयर म्यान अफ द म्याच भए ।