‘विराट गोल्डकप’ चैत २८ देखि

विसं २०१८ सालमा ‘महेन्द्र गोल्डकप’ को रुपमा संचालन भएको यो प्रतियोगिता २०५७ देखि विराट गोल्डकपको नामबाट संचालन हुँदै आएको छ ।

चैत्र २५, २०८२

पर्वत पोर्तेल

'Virat Gold Cup' from Chaitra 10

What you should know

विराटनगर — देशकै प्रतिष्ठित फुटबल प्रतियोगिता मानिने विराट गोल्ड कपको ३८ औं संस्करण चैत २८ देखि वैसाख ५ सम्म हुने भएको छ । 

प्रतियोगिताको मुख्य आयोजक ‘विराट फुटबल ट्रस्ट’ ले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । ‘फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्ड कप’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगितालाई यसपटक ‘नोबेल मेडिकल कलेज’ ले मुख्य प्रायोजन गरेको छ । 

विराटनगरको सहिद रंगशालामा आयोजना हुने प्रतियोगिताका लागि मैदानको मर्मत तथा सरसफाई सम्पन्न भइसकेको छ भने मैदान बाहिर ब्यानर, होर्डिङ बोर्ड र गेट निर्माणको काम जारी रहेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिता रात्रिकालीन हुने छ । २०७४ मा फ्लडलाइट जडानपछि  विराट गोल्डकप रात्रिकालीन प्रतियोगिताका रुपमा संचालन हुँदै आएको छ ।  

प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोली सहभागी हुनेछन् ।  जसमा नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र फुटबल, नेपाल एपीएफ, चर्च ब्वाइज, विराटनगरको सम्राट स्पोर्टिङ, झापा–११ फुटबल क्लब तथा भारतको अल झारखण्ड विर्षा मुण्डा फुटबल एकेडेमी रहेका छन् ।

प्रतियोगिताको संरक्षक तथा प्रवर्द्धकका रूपमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् रहेका छन् भने प्राविधिक सहयोग मोरङ जिल्ला फुटबल संघले गर्नेछ । 

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको जनाए । प्रतियोगिताका विजेताले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, गोलकर्ता र खेलाडीलाई नगद १५–१५ हजार रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

‘प्रतियोगितालाई सफल बनाउन विभिन्न प्रायोजक तथा सहप्रायोजकहरू जुटेका छन्’, अध्यक्ष शाहीले भने,‘आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवाला र खेलप्रेमीलाई सहयोग तथा सहभागिताका लागि आग्रह गरिन्छ ।’ 

आर्थिक मन्दीका बाबजुद प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकको भनाइ छ । दर्शक सहभागिता बढाउन यसपटकदेखि ‘फेस अफ द विराट गोल्डकप’ जस्ता कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

विसं २०१८ सालमा ‘महेन्द्र गोल्डकप’ को रुपमा संचालन भएको यो प्रतियोगिता २०५७ देखि विराट गोल्डकपको नामबाट संचालन हुँदै आएको छ । यो प्रतियोगिताले विराटनगरको दशकौं लामो फुटबल विरासतलाई धान्दै आएको छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully