वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस स्टर्न (डीएलएस) नियमअनुसार मधेश १८ रनले विजयी भएको हो। डीएलएस गणितीय सूत्र हो । वर्षाले प्रभावित खेलमा यो नियम लागू गरिन्छ ।
What you should know
पर्सा — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार वीरगन्जमा सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई १८ रनले पराजित गरेको छ।
वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लुइस स्टर्न (डीएलएस) नियमअनुसार मधेश विजयी भएको हो। डीएलएस गणितीय सूत्र हो । वर्षाले प्रभावित खेलमा यो नियम लागू गरिन्छ ।
टीबी शाह क्रिकेट मैदानमा बुधबार भएको खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको मधेशले ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। मधेशका लागि मयान यादवले ३२ बलमा ४३ रनको योगदान दिए भने विशाल सुस्लिङले ४९ बलमा अविजित ४० रन बनाए ।
गण्डकीका बलर अपराजित पौडेलले ७ ओभरमा २६ रन र सुभाष भण्डारीले ६ ओभर ५ बलमा २६ रन दिई समान ३–३ विकेट लिँदै मधेशलाई मध्यम स्कोरमा रोक्न सफल भएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले वर्षाका कारण छोट्याइएको खेलमा २२ ओभरमा ५ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो। अर्जुन कुमालले ६५ बलमा अविजित ४९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अर्का व्याट्सम्यान दीपक डुम्रेले २१ बलमा १३ रन बनाए ।
मधेशका लागि विशाल पटेल र मोहम्मद आदिल आलमले समान १/१ विकेट लिँदै गण्डकीको इनिङ्स नियन्त्रणमा राखेका थिए। पटेलले ४ ओभरमा ८ रन दिएका थिए भने आलमले २ ओभरमा ९ रन दिएका थिए । उत्कृष्ट प्रदर्शन गर्दै ४० रन बनाएका मधेशका विशाल सुस्लिङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।
