रुपन्देही सुपरलिग: देवदह क्रिकेट युनिट विजयी

देवदहले सैनामैना क्रिकेट क्लबलाई ७ रनले पराजित गरेको हो ।

चैत्र २४, २०८२

माधव ढुंगाना

Rupandehi Super League: Devdaha Cricket Unit wins

भैरहवा — २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले सैनामैना क्रिकेट क्लबलाई ७ रनले पराजित गरेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले ३३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रनको योगफल बनायो । जसमा, रोशन गौतमले ३२, कृष्ण कार्कीले २८ र सुमन पाण्डेले १२ रन बनाए ।

बलिङमा सैनामैनाका किरण भट्टराईले ९ ओभर ३ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैनाले ३२ ओभरमा १ सय १३ रन बनाएर अलआउट भयो । उसका लागि सुनिल पौडेलले ३१, सुशान्त क्षेत्रीले २३, किरण भट्टराईले १८ र निश्चल क्षेत्रीले ११ रन बनाए ।

बलिङमा देवदहका रोशन गौतमले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ५ विकेटलिए । कृष्ण पराजुलीले ३, शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए । खेलमा रोशन गौतम प्लेयर अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे । ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully