प्रधानमन्त्री कप : अर्जुनको शतकीय पारीमा आर्मीले कर्णालीलाई १३८ रनले हरायो

२६९ रनको टार्गेट पाएको कर्णाली ४२.१ ओभरमा १३० रनमै सबै विकेट गुमाउन पुग्यो

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister's Cup: Arjun's century helps Army defeat Karnali by 138 runs

पर्सा — अर्जुन साउदको शतकीय पारीको मद्दतले विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार वीरगन्जमा कर्णाली प्रदेशलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।

वीरगन्जस्थित टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

आर्मीका लागि अर्जुन साउदले उत्कृष्ट प्रदर्शन गर्दै १२० बलमा १२१ रनको शतकीय इनिङ्स खेले । उनले १० चौका र ३ छक्का प्रहार गरे । यस्तै, बसीर अहमदले ७० बलमा ४५ रनको महत्त्वपूर्ण योगदान दिए ।

कर्णालीका बलरमध्ये दिनेश अधिकारीले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए भने प्रकाश जैशीले ९ ओभरमा ५५ रन दिई ३ विकेट हात पारे ।

Prime Minister's Cup: Arjun's century helps Army defeat Karnali by 138 runs

२६९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश दबाबमा देखियो । शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट भएपछि टोली ठूलो हारबाट जोगिन सकेन । कर्णालीले अपेक्षित प्रदर्शन गर्न नसकेर ४२.१ ओभरमा १३० रनमै समेटिँदै आर्मीसमक्ष आत्मसमर्पण गर्‍यो ।

आर्मीका बलरहरूले कर्णालीको ब्याटिङ लाइनअपलाई निरन्तर दबाबमा राख्दै खेल आफ्नो नियन्त्रणमा राखे । कर्णालीका लागि विपिनविक्रम शाही ठकुरीले ७० बलमा ४० रन र अर्जुन घर्ती मगरले ५८ बलमा ३२ रन बनाए पनि त्यो आर्मीसँग प्रतिस्पर्धाका लागि पर्याप्त भएन ।

आर्मीका बलरमध्ये साहब आलमले ९ ओभरमा १८ रन दिई ३ विकेट लिए भने बसीर अहमदले ७.१ ओभरमा १५ रन खर्चेर समान ३ विकेट लिए ।

खेलका उत्कृष्ट खेलाडी अर्जुन साउद घोषित भए । शतकीय इनिङ्स खेलेका साउदले टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरेका थिए ।

कान्तिपुर

Link copied successfully