१ सय ६० रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिमले ४६.२ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो ।
What you should know
जनकपुर — सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित गर्दै नेपाल एपीएफ क्लबले आफ्नो विजयी यात्रा कायम राखेको छ ।
प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार जनकपुरस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा एपीएफ क्लबले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ५९ रन बनाएको थियो ।
एपीएफका ओपनर व्याटर दीपक बोहराले ६८ बलमा ४६ रन बनाएका थिए । अर्का ओपनर ब्याटर आशिफ शेख ५ बलमा १ रन बनाउँदै क्याच आउट भए । यस्तै, कप्तान रोहित पौडेलले ३१ बल खेल्दै ११ रनमा आउट भए । त्यसपछि मैदानमा उत्रिएका सन्दीप जोराले ४५ बलमा ५५ रन बनाएका थिए । जोरा र बोहराको साझेदारी टिकेको थियो ।
एपीएफका अर्का व्याटर सुमित महर्जनले ५१ बलमा ४१ रन बनाए । लोकेश बमले ४० बलमा ४७ रन जोडे । अमरसिंह रतौलाले १२, कमलसिंह ऐरीले १३, अभिषेक गौतमले ८, पुरन विकले ८ र युवराज खत्रीले ५ रन बनाएका थिए । एपीएफ क्लबले १२ रन अतिरिक्त पाएको थियो ।
सुदूरपश्चिमका बलर हेमन्त धामीले ९ ओभरमा ४९ रन दिँदै १ विकेट लिए । अर्का बलर विकास अग्रीले ८ ओभरमा ४३ रन खर्चिँदै २ विकेट, अशोक धामीले १० ओभर फ्याक्दै ४५ रन दिएर २ विकेट, शेर मल्लले १० ओभरमा ४५ रन दिएर ३ विकेट र नरेन भट्टले १ ओभरमा ४ रन दिँदै १ विकेट लिएका थिए ।
१ सय ६० रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिमले ४६.२ ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । नेपाल एपीएफ क्लबसँग ४५ रनले पराजित हुनुअघि सुदूरपश्चिमका कप्तान शेर मल्ल र विकास अग्रीको साझेदारीले राम्रो रन बटुले पनि मल्ल रनआउट हुनपुगे ।
सुदूरपश्चिमका व्याटर अभिषेक पालले ९० बलमा ४४ रन, खड्ग बोहराले १९ बलमा १६ रन, नरेन भट्टले २४ बलमा १५, दीपक बोहराले ३९ बलमा २४, अशोक धामीले ४३ बलमा ५०, मिलन बोहराले २३ बलमा २३, नारायण जोशीले ९ बलमा ४, शेर मल्लले २० बलमा १७ र विकास अग्रीले १० बलमा १३ रन बनाएका थिए । सुदूरपश्चिमले अतिरिक्त ८ रन पाएका थिए ।
नेपाल एपीएफ क्लबका बलर युवराज खत्रीले १० ओभरमा ३४ रन दिँदै सर्वाधिक ५ विकेट लिए । यस्तै, अर्का बलर अभिषेक गौतमले ९ ओभरमा ३२ रन दिएर २ विकेट लिएका थिए । अर्का बलर कमलसिंह ऐरी र कप्तान रोहित पौडेलले १/१ विकेट लिएका थिए ।
