लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । जवाफमा नेपाल पुलिस क्लब ४२ ओभर ५ बलमा २ सय ६ रनमै अलआउट भयो र ५० रनले पराजित बन्न पुग्यो ।
What you should know
पर्सा — रन्जित खड्काको शतकीय पारीको मद्दतले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार वीरगन्जमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले नेपाल पुलिस क्लबमाथि ५० रनको प्रभावशाली जित निकालेको छ। यहाँस्थित टीबी शाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको पुलिसले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको थियो।
लुम्बिनीले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय ५६ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो। लुम्बिनीका लागि रन्जित खड्काले उत्कृष्ट शतक प्रहार गर्दै १ सय २८ रनको महत्त्वपूर्ण योगदान दिए। उनले १ सय २८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। यस्तै आकाश त्रिपाठीले ५७ बलमा ३६ रन बनाएर उनलाई साथ दिए। नेपाल पुलिस क्लबका ललितनारायण राजवंशीले १० ओभरमा ४७ रन दिई ३, दिपेश खरेलले ८ ओभर ५ बलमा ३६ रन दिई २ विकेट लिए ।
जवाफमा २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लब ४२ ओभर ५ बलमा २ सय ६ रनमै अलआउट भयो। पुलिसका लागि दिनेश खरेलले ९४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले १ सय ४ बलमा ९४ रन बनाएका हुन् । अर्का व्याट्सम्यान श्रवण यादवले २८ बलमा ३६ रन बनाए ।
लुम्बिनीका बलरहरूले अनुशासित प्रदर्शन गर्दै नियमित अन्तरालमा विकेट लिँदा पुलिस क्लब दबाबमा रह्यो। लुम्बिनीका लागि अजय चौहानले ९ ओभर ५ बलमा ३७ रन बनाई ४ र देव खरेलले ६ ओभरमा ३५ रन दिई ३ विकेट हात पारे । उत्कृष्ट ब्याटिङ प्रदर्शनका गरेका लुम्बिनीका रन्जित खड्का ‘प्लेयर अफ द म्याच’ घोषित भए।
