इंग्लिस घरेलु लिगमा जति प्रतियोगिता छन्, ती सबैबाट युरोपमा खेल्ने सम्भावना खुला छ ।
लन्डन — सायद इंग्लिस प्रिमियर लिग कसले जित्ने हो, त्यसमा धेरै कौतूहल रहेन । तर उत्तिकै रोमाञ्चकता अर्को सिजन युरोपमा खेल्ने टिम को को हुने हो, त्यसको समीकरणमा भने छ । विश्वास नहुन सक्छ, १३ टिमसामु अर्को सिजन युरोपमा खेल्ने सम्भावना छ । यो सम्भावना धेरै जटिल तथ्यमा निर्भर छ । फरक लिग चरणको व्यवस्थापछि युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग दुवै अझ बढी आकर्षक भएका छन् । त्यसमाथि तेस्रो प्रतियोगिताका रूपमा कन्फ्रेन्स लिग पनि रहेको छ ।
इंग्लिस घरेलु लिगमा जति प्रतियोगिता छन्, ती सबैबाट युरोपमा खेल्ने सम्भावना खुला छ । लिगकै कुरा गर्ने हो भने अहिले पाँचौं स्थानमा रहेको लिभरपुल र १३ औं स्थानमा रहेको बर्नमाउथबीचको अन्तर भनेकै जम्मा ७ अंक हो । त्यस अर्थमा यसपल्टको प्रिमियर लिगमा कसले कुन बेला कसलाई हराउने हो, त्यो भन्नै सकिन्न । यसपल्टको कुरा गर्ने हो भने ९ टिमले युरोपमा खेले । त्यसमध्ये ६ टिम च्याम्पियन्स लिगमा थिए, २ युरोपा लिगमा अनि एक कन्फ्रेन्स लिगमा ।
अर्को सिजनको यस्तै सम्भावना कस्तो त ? युरोपेली फुटबल महासंघको जटिल नियमअनुसार जुन सिजन जुन देशको लिगले राम्रो गर्छ, त्यसले च्याम्पियन्स लिगमा दुई थप स्थान पाउने गर्छ । त्यस अर्थमा अबको सिजन पनि प्रिमियर लिगले कम्तीमा एक बढी स्थान च्याम्पियन्स लिगमा पाउने लगभग निश्चित जस्तै छ । त्यसको कारण के हो भने युरोपमा खेलेका ९ टिममध्ये ५ टिमको चुनौती ती प्रतियोगितामा अझै पनि कायम नै छ, उपाधि जित्ने सक्ने सम्भावना बलियो नै छ ।
त्यसमा च्याम्पियन्स लिगमा आर्सनल र लिभरपुल, युरोपा लिगमा नटिङ्घम फरेस्ट र एस्टन भिल्ला तथा कन्फ्रेन्स लिगमा क्रिस्टल प्यालेससामु यस्तो अवसर रहेको हो । च्याम्पियन्स लिगमै सिधै दुई थप स्थानको सम्भावना भने कमजोर छ । किनभने लिभरपुल र एस्टन भिल्लाको लय राम्रो छैन । दुवैले युरोपमा उपाधि जितेर मात्र पुग्ने छैन, घरेलु लिगमा शीर्ष पाँचभित्र पनि रहनुपर्नेछ । त्यस्तै भयो भने अर्को सिजन च्याम्पियन्स लिगमा सात इंग्लिस टिम हुन सक्छ र यसका लागि फरेस्टले युरोपा लिग जित्नुपर्नेछ ।
युरोपा लिगमा त्यसै पनि कम्तीमा दुई स्थान इंग्लिस क्लबका लागि खुला छ । प्रिमियर लिगको शीर्ष पाँच स्थानमा रहने टिम च्याम्पियन्स लिगका लागि छनोट हुन्छन् भने छैटौं स्थानमा रहने टिम र एफए कप विजेताले युरोपा लिग खेल्नेछन् । यदि आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुलमध्ये कोही एकले एफए कप जिते एउटा अर्को टिमले पनि युरोपा लिगमा प्रवेश सम्भावना हुनेछ । अनि एफए कप तिनै चार टिममध्ये एकले जित्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
लिभरपुल वा एस्टन भिल्लामध्ये एकले युरोपमा उपाधि जित्छ र प्रिमियर लिगको शीर्ष पाँचभित्र पनि रहन्छ भने सातौं स्थानमा रहेको टिम युरोपा लिगका छनोट हुनेछ । लिभरपुल वा एस्टन भिल्लाले युरोपमा उपाधि जिते पनि घरेलु लिगमा शीर्ष पाँचभित्र परेन भने हुनसक्छ, आठौं स्थानमा रहने टिम पनि युरोपा लिगका लागि छनोट हुनसक्छ । त्यति बेला आठौं र नवौं स्थानमा रहने टिमसामु पनि युरोपा लिग खेल्ने अवसर अविश्वससीय ढंगले बन्ने छ ।
यसबीच क्रिस्टल प्यालेसले कन्फ्रेन्स लिग जित्छ र प्रिमियर लिगको शीर्ष ६ स्थानबाहिर रहन्छ भने यो लन्डन टिम पनि अर्को सिजन युरोपा लिग खेल्न सक्षम हुनेछ । अहिलेका लागि सिटीले लिग कप जितेपछि यो टिम कन्फ्रेन्स लिगका लागि छनोट भइसकेको छ । तर सिटी लिगमा शीर्ष ६ भित्र पर्ने त निश्चित छ । एफए कप कसले जित्ने हो, त्यो निश्चित छैन तर यसबीच बन्ने सम्भावनाले लिगको आठौं, नवौं र दसौं स्थानमा रहने टिमले पनि कन्फ्रेन्स लिग खेल्नेछ । जटिल समीकरणमा १३ औं स्थानसम्म आउने टिमसामु पनि युरोपमा खेल्ने स्थिति बन्ने छ ।
