लगातार दोस्रो खेल जित्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ ।
दिल्ली — समीर रिज्भी लगातार दोस्रो पटक प्लेयअर अफ द म्याच बनेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार मुम्बई इन्डियनलाई ६ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जित्दै दिल्ली शीर्ष स्थानमा उक्लेको छ ।
नियमीत कप्तान हार्दिक पाण्ड्या बिनै खेलेको मुम्बईले अरुण जेट्ली रंगशालामा पहिला ब्याटिङका लागि निम्त्याएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सकेको थियो । कार्यवहाक कप्तान सूर्यकुमार यादवले ३६ बलमा सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।
रायन रिकेल्टनलाई ९, तिलक बर्मालाई शुन्य र सेरफन रदरफोर्डलाई ५ रनमा गुमाएको मुम्बईबाट पूर्व कप्तान रोहित शर्माले ३५ रन बनाए । उनले २६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । नमन धीरले २१ बल खेली २ चौका र १ छक्काका साथ २८ रन जोडे । मिचेल सान्टनर १३ बलमा १८ र कोरबिन बोस्क ४ बला ११ रन बनाई अविजित रहे । दिल्लीका मुकेश कुमारले ३ ओभरमा २६ रन खर्चेर २ तथा लुङ्गी एनगिडी, कप्तान अक्षर पटेल, विपराज निगम र टी. नटराजनले १–१ विकेट लिए ।
रिज्भीले ९० रन बनाएपछि दिल्लीले ११ बल अगाडी नै १ सय ६४ रन बनायो । रिज्भीले ५१ बल खेल्दै समान ७ चौका र छक्का प्रहार गरे । दिल्लीको सुरुआत राम्रो थिएन । केएल राहुल १, नितिश राना शुन्यमा आउट भएका थिए । ओपनर पाथुम निसान्काले ३० बल खेली ६ चौका र १ छक्कासहित ४४ रन बनाए । डेबिड मिलर १८ बलमा ४ चौका प्रहार गरी २१ र ट्रिस्टन स्टब्स ३ रनमा अविजित रहे । मुम्बईका दीपक चाहर, सान्टनर र बोस्कले १–१ विकेट लिए ।
