गण्डकीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको कोशी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रनमै सीमित हुन पुग्यो ।
पर्सा — अर्जुन कुमालको शतकीय पारीको मद्दतले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा शनिबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ।
यहाँस्थित टिबी शाह क्रिकेट मैदानमा गण्डकीले टस जितेर पहिले व्याटिङ गर्दै पूरै ओवर खेलेर ७ विकेटको क्षतिमा २ सय २७ रनको सम्मानजक योगफल बनायो । गण्डकीका लागि १ सय २ रनको शतकीय पारी खेल्दा अर्जुन कुमालले १ सय ४१ बलको सामना गरेका थिए ।
गण्डकीका अर्का व्याट्सम्यान बिपिन खत्रीले पनि अर्धशतकीय पारी खेले । उनले अविजित रहँदै ८६ बलमा ७६ रन बनाए ।
कोशीका बलर दिपेश कँडेलले १० ओवरमा १८ रन दिएर गण्डकीको ४ विकेट झारेका थिए । अर्का बलर सुजन थपलियाले १० ओवरमा २९ रन दिएर १ विकेट हात पारे ।
गण्डकीले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको कोशी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रनमै सीमित हुन पुग्यो । कोशीका लागि दिपेश कँडेलले ७३ बलमा अविजित ५२ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् ।
अर्का व्याट्सम्यान आशिष मगरले ४० बलमा ३० रन जोडे । गण्डकीका बलरहरु सिब्रिन श्रेष्ठले ७ ओवरमा ३५ रन दिएर ३ र अपराजित पौडेलले ८ ओवरमा ३१ रन दिँदै २ विकेट लिएका थिए । उत्कृष्ट प्रदर्शन गरेका गण्डकीका अर्जुन कुमाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
