विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार
लमजुङ — प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीले भरिपूर्ण लमजुङको घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘नवौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताका लागि देशभरका १२ टिमलाई आमन्त्रण गरिएको छ । एक सातासम्म सञ्चालन हुने उक्त फुटबल प्रतियोगितामा सहभागी टिमलाई समितिले खाने बस्ने व्यवस्था मिलाएको छ ।
प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लब र भुइँखेल फुटबल क्लब, नेपाल पुलिस क्लब (गण्डकी), अभिषेक चर्च रजहर नवलपुर, गन्नी फुटबल क्लब पोखरा, सूर्यपुर फुटबल क्लब चितवन, फ्रेन्डसिप युथ क्लब तनहुँ साथै पोखराको बौद्ध शान्ति युवा क्लब रामघाट र एनके फुटबल क्लब पोखरा सहभागी हुनेछन् । घरेलु टिम त्रिवेणी युवा क्लब बेंसीशहर, बुद्ध युथ क्लब भोटेओडार र नाल्मा–११ बेंसीसहर रहेका छन् ।
विजेताले ८ लाख रुपैयाँसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । क्वाटरफाइनलदेखि प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरी २ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले जनाएको छ । पुरस्कारमा करकट्टी हुने आयोजकले जनाएको छ ।
फुटबल प्रतियोगिता क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा हुनेछ । प्रतियोगितामा ३३ लाख खर्च ३० हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।
समितिका अध्यक्ष घलेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आमन्त्रित फुटबल प्रतियोगिताले गाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा आयोजना हुने फुटबल प्रतियोगिताको पुरस्कार राशी सम्भवतः नेपालमै सबैभन्दा धेरै रहेको उनले उल्लेख गरे ।
ग्रामीण पर्यटन विकासको उद्देश्यसहित २०५६ सालदेखि सुरू भएको पर्यटन गतिविधिले २०५७ बैशाख २३ गते ‘प्रथम घलेगाउा महोत्सव’ सँगै होमस्टे कार्यक्रमलाई औपचारिकता दिएको थियो । त्यसयता गाउँमा कला, संस्कृति र पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम हुँदै आएका छन् । २०६४ फागुनमा दक्षिण एसियाकै नमुना गाउँ (सार्क भिलेज) घोषणा गरिएको घलेगाउँलाई २०७६ मंसिर १७ गते ‘स्मार्ट भिलेज’ घोषणा गरिएको थियो ।
घलेगाउँका करिब १ सय ३० घरमध्ये ४५ घरमा होमस्टे सञ्चालनमा छन् । ३ वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । एउटा निर्माणाधीन अवस्थामा छ । २०७९ वैशाख २ गते ‘सुखीगाउँ’ घोषणा भएपछि घलेगाउँले पर्यटन गतिविधिमा थप चर्चा बटुलेको छ ।
ग्रामीण पर्यटन प्रवर्द्धनको लागि प्रत्येक वर्ष वैशाख २३–२५ गते ‘घलेगाउँ महोत्सव’ आयोजना हुँदै आएकोमा कोरोना महामारीका कारण २०७७ मा महोत्सव हुन सकेन । २०७६ वैशाख २३–२५ गतेको २० औं घलेगाउँ महोत्सव अन्तिम महोत्सव भयो ।
घलेगाउँको स्वर्गभूमि रंगशालामा हरेक वर्ष बैशाख १ गते फुटबल मेला आयोजना हुँदै आएको छ, जसलाई वैशाख बजारको नामले चिनिन्छ । पछिल्लो वर्षको प्रतियोगिता नियमित हुन नसकेपछि उत्तरकन्या युनाइटेड युथ क्लबको पहलमा वि.सं. २०७३ सालदेखि स्मार्ट भिलेज गोल्डकप सञ्चालनमा आएको थियो ।
त्यसलाई पछिल्लो वर्ष पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले एउटा उत्सवका रूपमा सञ्चालन गर्दै आएको समितिका सचिव उमलबहादुर विकले बताए ।
फुटबल प्रतियोगिताअघि वैशाख १ गते साँस्कृतिक कार्यक्रम आयोजना गरिने र कार्यक्रममा लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मधु थापामगर, उषा गुरुङ, प्रिया गुरुङ, अनुज अधिकारीलगायत कलाकारको प्रस्तुति रहने वडाध्यक्ष आसबीर गुरुङले जानकारी दिए ।
चौबीसे राज्यकालमा घले राजाको शासनस्थल रहेको घलेगाउँ करिब ८ सय वर्ष पुरानो बस्ती हो । यहाँ गुरुङ जातिको अन्तिम राजा क्याल्बोरोजा क्लेको शालिक, ‘क्होइँबो’, संग्रहालय, गोर्खा आर्मी पार्क भ्यू टावर, उत्तरकन्या मन्दिर, चियाबारीलगायतका पर्यटकीय स्थल रहेका छन् ।
सदरमुकाम बेंसीसहरबाट करिब २४ किलोमिटर दूरीमा रहेको घलेगाउँ मोटरबाटोमार्फत डेढ घण्टामा पुग्न सकिन्छ । काठमाडौंबाट बेंसीसहर १७२ किलोमिटर र पोखराबाट ११० किलोमिटर दूरीमा पर्छ ।
