नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले काभ्रेको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर परिसरमा आयोजना गरेको अवार्डबाट उनीहरूलाई पुरस्कृत गरेको हो ।
काठमाडौं — करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ २० औं एनएनआइपिए स्पोटर््स अवार्ड २०८२ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले काभ्रेको बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिर परिसरमा आयोजना गरेको अवार्डबाट उनीहरूलाई पुरस्कृत गरेको हो ।
टेबलटेनिसका स्यान्टुले दक्षिण एसियाली छनोट जित्दै २०२४ पेरिस ओलम्पिक खेलेका थिए । उनी टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका थिए । करातेकी पदकधारी एरिका वर्ल्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । उनले अस्ट्रेलियन ओपन स्वर्णसहित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी थिइन् ।
एरिका लगातार दोस्रो वर्ष एनएनआईपीए सर्वोत्कृष्ट महिला खेलाडी सफल भइन् । सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार पाए । स्यान्टु विदेशमा रहेकाले अवार्ड परिवारजनले ग्रहण गरेको थियो । एरिकाले लगातार दोस्रो पटक अवार्ड जित्नु आफ्नो लागि गौरवको क्षण भएको बताउँदै अवार्ड खेलाडीको हौसला बढाउने कडी भएको सुनाइन् ।
प्रतिभावान पुरुष खेलाडीको अवार्ड तेक्वान्दोका अभिषेक बराल र महिलातर्फ बक्सिङकी स्वस्तिका तिरुवाले पाएका थिए । अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए । स्वस्तिकाले आईएसएफ जिम्न्यासाइड समर गेम्समा स्वर्ण जितेकी थिइन् । यसअघि उनले सन् २०२१ मा दुबईमा एसियाली जुनियर बक्सिङमा पनि कांस्य जितेकी थिइन् ।
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङदम्बे सम्मानित भइन् । प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ पाएकी छन् । दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँ दिल्लीमा ३ दशमलब ९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन् । जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो ।
न्यु डायमण्ड भलिबल एकेडेमीमार्फत महिला भलिबलमा उल्लेखनीय योगदान दिएका भलिबलका प्रशिक्षक कुमार राई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भए । एनएनआईपीए खेलकुद पत्रकारिता पुरस्कारबाट दुई दशकभन्दा बढी खेलकुद फोटोपत्रकारितामा बिताएका फोटो पत्रकार उदीप्तसिं क्षेत्री सम्मानित भए । दुवैले जनही ३५ हजार र सम्मानपत्र पाए ।
विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी–२०८२ बाट पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एरबिन श्रेष्ठ (पौडी), सुनीरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रबिना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युतकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सदभाव आचार्य (गल्फ), दिलीप यादव (भारोत्तोलन), रविन चेपाङ (र्याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमाखु (जिम्न्याष्टिक), स्यान्टु श्रेष्ठ (टेबलटेनिस) र लक्ष्मी राई (स्की) छन् । उत्कृष्ट सबैले जनही १५ हजार पुरस्कार पाए । उनीहरूमध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको एनएनआईपीएले जनाएको छ ।
अवार्ड विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सम्मानित गरेका थिए । नगरप्रमुख शाक्यले यस एनएनआईपीए अवार्डलाई बनेपा नगरमा ल्याउनका लागि दुई वर्ष अघिदेखि आफूले प्रयत्न गरेको स्मरण गराउँदै ऐतिहासिक सम्पदा चण्डेश्वरी मन्दिर परिसरमा अवार्ड आयोजना गर्न पाउँदा हर्षउल्लास महसुस भएको बताए । उनले हाम्रो बनेपाको धरोधर चण्डेश्वरी मन्दिरबारे धेरैलाई थाहा नहुन सक्छ, अब राष्ट्रिय/अन्तर्राष्ट्रिय पहिचान बोकेका खेलाडीको आगमनले यसको चर्चा बढ्नेमा आफू आशावादी रहेको बताए ।
